एनआईसी एसिया बैंकको सिईओमा न्यौपाने
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आइतबार बसेको वैठकले का.मु. प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई सिईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भएसँगै न्यौपानेले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकमा आफ्नो कार्यकुशलता देखाइसकेकाले उनलाई सिईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । न्यौपाने चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।
सिईओ न्यौपानेलाई सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथग्रहण गराएको बताइएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे
एनआईसी एसिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको बैंकले जनाएको छ ।
पाण्डे २०४६ मंसिरमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका थिए । पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एसिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर करिब १४ लाखभन्दा बढी ग्राहक छन् भने २ सय ६८ शाखा तथा २ सय ८१ एटीएमसहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।