नेकपामा पनि बढ्दैछ कचिंगल

प्रमुख नेताले किन गरे सचिवालय वैठक वहिस्कार ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको मतभेद सचिवालयमा दैखिएको छ । नौ सदस्यीय सचिवालयको शनिवारको बैठक चार जनाले वहिस्कार गरेपछि विवाद सतहमै आएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा तोकिएको १५ मिनेटसम्म पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम वैठक वहिस्कार गरेर हिडेका थिए ।

हरेक बैठक बोलाइएको समयमै शुरु गर्ने नियम बनाएको भएपनि प्रमुख नेताहरु ओली, पुष्पकमल दाहाल, विष्णु पौडेल १५ मिनेटसम्म पनि उपस्थित नभएकाले आफहरु बाहिरिएको प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले बताएका छन् ।
वैठक प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको र प्रधानमन्त्री ओली त्यही समयमा विशेष भेटघाटमा भएकाले वैठकमा आउन केही ढिलो भएको वालुवाटार स्रोतले बताएको छ ।

चार नेता हिडेपछि बसेको सचिवालय वैठकले यही मंसिर २९ गते स्थायी समितिको वैठक बस्नेत निर्णय गरेको बताइएको छ । नौ सदस्यीय सचिवालय मध्ये अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र सचिवलय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा बसेर सो निर्णय गरेको बताइएको छ ।
यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो विवाद पछि प्रदेश कमिटीलाई पूर्णता दिएको छ । प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक भएसँगै नेता, कार्यकर्तामा केही सन्तुष्टि भने देखिएको छ । पदाधिकारी र सदस्य चयनमा नेता, कार्यकर्तालाई काखा र पाखाको नीति अपनाइएको भन्दै केही नेता, कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । महिलालाई ३३ प्रतिशत नछुट्याएको भन्दै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले नै आक्रोश व्यक्त गरेकी छिन् । सात वटा प्रदेश समितिमा २५६जना महिला परेका छन् । कुल १३८४ मध्ये महिलाको संख्या १८.४६ प्रतिशत मात्रै छ ।
नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन बाँकी नै छ भने जिल्ला र स्थानीय कमिटी गठन बारे निर्णय हुन सकिरहेको छैन । अधिकांस जिल्लामा एमाले र माओवादी पृष्ठभूमिका नेता, कार्यकर्तालाई समायोजन गर्ने विषयमा कुरा नमिलेकाले गठनले पूर्णता पाउन अझै केही हप्ता लाग्ने देखिएको छ ।
मंसिर १२ गते बसेको नेकपा सचिवालय वैठकले प्रदेश कमिटीका पदाधिकारी र सदस्यको नाम टुंगो लगाएपनि विवाद देखिएका कारण घोषणा हुन सकेको थिएन । महासचिव विष्णु पौडेलले सात वटै प्रदेशमा रहने सदस्यको नाम केही दिनअ िमात्रै सार्वजनिक गरेका हुन् ।
प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएपनि प्रदेश कमिटीका सदस्यको नाम टुंगो नलाग्दा पार्टीमा असन्तुष्टि बढेको थियो । पार्टी एकता भएको सात महिना पछि एमाले र माओवादी पृष्ठभूमिका नेताले भागवण्डाका आधारमा प्रदेश कमिटीका सदस्यको नामावली टुंग्याएका हुन् ।
प्रदेश नं. १ मा २०७ जनाको कमिटी बनेको छ । जसमा एमाले पृष्ठभूमिका ११२ र माओवादीतर्फका ८५ जना छन् । २ नं. प्रदेशमा २१५ जनाको कमिटी बनाइएको छ । जसमा दुवै पक्षका १०६ जनाका दरले छन् भने पार्टी एकतापछि प्रवेश गरेका ३ जनालाई पनि समेटिएको छ । यस्तै प्रदेश नं. ३ मा एमालेका ११६ र माओवादीका १०१ जना गरी २१७ जनाको कमिटी बनाइएको छ ।
गण्डकी प्रदेशमा १८७ जनाको कमिटी बनेको छ । जसमा एमालेका १०२ र माओवादीका ८५ जना छन् । ५ नं. प्रदेशमा २०३ जनाको कमिटी बनाइएको छ । १०६ जना एमालेका र ९७ जना माओवादीका छन् ।
कर्णाली प्रदेशमा १७५ जनाको कमिटी बनेको छ । एमालेका ८७ र माओवादीका ८८ जना छन् । सुदूरपश्चिमा १८३ जनाको कमिटी बनाइएको छ । १०० जना एमालेबाट र माओवादीका ८३ जना छन् ।
अब ४४१ जना केन्द्रीय सदस्यलाई कामको बाँडफाँड गर्नुपर्ने दायित्व केन्द्रीय सचिवालयको काँधमा आएको छ । यो प्रक्रिया पूरा गर्दा केही विवाद आउने आशंका गरिएको छ । आन्तरिक गुटबन्दीमा फसेको पार्टीभित्र अहिलेसम्म जेजति कलह भएका छन्, ती सवै केन्द्रमै देखिन्छन् । तसर्थ केन्द्रीय सदस्यहरुको कार्यविभाजन पछिको अवस्थाले नेकपाको भविष्य स्पष्ट देखिन राजनीतिक विश्लेषकहरु बताउँछन् ।