नेपालको कूटनीतिमा किन लाग्दैछ धब्बा
काठमाडौं । राजदूत नियुक्त गर्दा सुक्ष्म अध्ययन नहुँदा नेपालको कूटनीति बेलाबेलामा विवाद र वद्नाम हुँदै आएको छ । राजदूत हुने व्यक्तिको पृष्ठभूमि, योग्यता, क्षमतामा भन्दा पनि पार्टीसँगको सम्वन्ध, नेताका आफन्त र आर्थिक फाइदा लिएर दलहरुले भागवण्डाका आधारमा राजदूत नियुक्त गर्ने परम्परा नै बसाल्दा नेपालको कूटनीति असफल मात्र होइन वद्नाम समेत भएको छ ।
उदाहरणका लागि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई लिन सकिन्छ । उनी चरम विवादमा परेकी छिन् । दूतावासका पूर्व कर्मचारी वाङ्छु शेर्पाले राजदूत शेर्पा मानव तस्कर भएको आरोप लगाएका छन् । आफूलाई समेत अमेरिका पठाइदिन्छु भनेर राजदूत शर्पाले २२ लाख रुपैयाँ लिएको र पछि थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया पठाएको वाङ्छुले एक टेलिभिजन मार्फत खुलासा गरेपछि राजदूत शेर्पाका कर्तुत बाहिर आएका हुन् ।
राजदूत शेर्पामाथि लागेको आरोपले नेपालकै वद्नाम भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले सत्यतथ्य छानविन गर्न सरकार समक्ष माग गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई पत्र पठाएर घटनाको यथार्थ जानकारी गराउन निर्देशन दिएपछि उनी नेपाल आएकी छिन् । आरोप पुष्टि भएमा उनीमाथि कारवाही हुने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।
अष्ट्रेलियामा राजदूत शेर्पाविरुद्ध मुद्दा चलिरहेको बताइएको छ । यस काण्डमा राजदूतका पति सोनाम समेत संलग्न भएको र उनले राजदूतका पूर्व ड्राइभर वाङ्छु शेर्पाबाट चार वर्षमा चुक्ता गर्ने कागज गरी ६४ लाख रुपैयाँ ऋण लिएको पनि बताइएको छ ।
कतिपयले वाङ्छुले समेत आफूलाई ठगेको भन्दै उजुरी गरेका छन् । राजदूत शेर्पाले आफूले मुलुकको वद्नाम हुने कुनै काम नगरेको दावी गर्दै पैसा लिएको भन्ने कागज पनि नक्कली भएको दावी गरेकी छिन् । देशको प्रतिनिधि भएर पुगेका राजदूतले गैरकानूनी र विवादित काम गर्दा नेपालको कूटनीतिमा धब्बा लागेको छ ।