पक्राउ परेका युवा निर्मलाका हत्यारा नै हुन् त !
५ बर्षीया बालिकाको सामुहिक बलात्कार
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिना वितिसक्दा पनि अझै हत्यारा पत्ता लागेको छैन । निर्मला पन्त प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेर सोधपुछ गरेपनि हत्यारा पत्ता लाग्न सकेका छैनन् । निर्मलाको शवसँगै भेटिन सक्ने प्रमाणहरु नष्ट भएका कारण प्रहरीलाई हत्यारा पत्ता लगाउन फलामको चिउरा चपाउनु सरह भएको छ ।
निर्मलाका हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुर, काठमाडौंलगायत देशका विभिन्न भागमा लगातार प्रदर्शन हुँदै आएको छ । प्रहरीले अपराधीको नजिकै पुगेको दावी गरेपनि चार महिना वित्दा पनि हत्यारा पक्राउ पर्न सकेका छैनन् ।
यसैवीच केही दिनअघि प्रहरीले काठमाडौंबाट एक जना र महेन्द्रनगरमा तीन जना युवक पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका प्रदीप रावलसँग आईजीपी सर्वेन्द्र खनालले नै वयान लिएको बताइएको छ । पक्राउ परेका युवक लागू पदार्थका दुव्र्यसनी भएको बताइएको छ । रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बताएको छ ।
महेन्द्रनगर–१८ भगतपुरका रावल र चौधरीले सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको सोधपुछका क्रममा बताए पनि उनीहरुको डीएनए परीक्षण पछि मात्रै एकीन गर्न सकिने प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको बताएको प्रहरीले जनाएको छ ।
निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको र विशाल पनि संलग्न भएको रावलले बताएको प्रहरीको दावी छ । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको उनीहरुले बताएको प्रहरीले जनाएको छ । रावल र चौधरीसँग लिइएको छुट्टाछुट्टै वयानमा ८० प्रतिशत कुरा मिल्दोजुल्दो रहेको र मोबाइलको विश्लेषणमा पनि घटनाका वेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो भएको प्रहरीको दावी छ ।
सरकारले निर्मलाका हत्यारालाई पत्ता लगाएन भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत आलोचना भईरहेको र घटनालाई सामसुम पार्न प्रहरीले तहकिकातमा भन्दा पनि प्रचारमा बढी जोड दिएको आरोप लागिरहेका बेला पक्राउ परेकाहरु नै वास्तविक अपराधी हुन् कि होइनन् भन्ने कुरा अहिले नै ठहर गर्न नसकिने टिप्पणी पनि आएको छ ।
निर्मला प्रकरणमा भइरहेका प्रदर्शन धेरैजसो उनका परिवारलाई न्याय दिलाउन भइरहेका छन् भने केही राजनीतिक र आर्थिक फाइदाका लागि पनि भइरहेको पाइएको छ । केही एनजिओहरुले निर्मलाको तस्विर भजाएर डलर कमाइरहेको आरोप पनि लागेको छ भने केही पार्टीहरुले निर्मला प्रकरणलाई राजनीतिक मुद्दा बनाउँदै पार्टीको प्रचार गरिरहेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।
विवेकशील साझाद्वारा प्रदर्शन
निर्मला पन्त हत्याको विरोध गर्दै शुक्रबार विवेकशील साझा पार्टीले राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले आँखामा कोलो पट्टी बाँधेका थिए भने हातमा तराजु बोकेका थिए । केही सहभागीले ‘बोलीमा नयाँ युग, व्यवहारमा पुरानै युग’, ‘प्रहरी हुनुपर्ने रक्षक, किन देखिँदैछ भक्षक’, लगायतका नारा लेखिएको कागजको टोपी लगाएका थिए । प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए ।
५ बर्षीया बालिकाको सामुहिक बलात्कार
बुटवल । रुपेन्देहीमा ५ बर्षीया बालिका सामुहिक बलात्कारको शिकार भएकी छिन् । देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षीया बालिका ६ जना युवाबाट शुक्रबार सामुहिक बलात्कार भएकी हुन् ।
६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा शुक्रबार नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षीय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तिले जानकारी दिए ।
रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले बताए । पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।
त्यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि एक ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । शितगंगानगरपालिका–१३ स्थित एक विद्यालयको शिशु कक्षामा अध्ययनरत बालिकामाथि स्कुलबाट घर फर्कने क्रममा बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र बालिका बलात्कार अभियोगमा सोही नगरपालिका सिमलपानीका ४० वर्षीय राजु भनिने देवबहादुर सुनाखरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।