‘प्रसाद’मा दर्शकको आकर्षण

काठमाडौं । चलचित्र ‘प्रसाद’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरका कारण प्रदर्शन अघिदेखि नै चर्चामा आएको यो चलचित्रले बलिउडको ‘केदारनाथ’सँग प्रतिस्पर्धा गर्नुपरेपनि यसमा दर्शकको आकर्षण देखिएको छ ।
काठमाडौंको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको छ । शुक्रबार र शनिबारका अधिकांश शोमा दर्शकको चाप उच्च देखिएकाले प्रसादले राम्रै सफलता प्राप्त गर्ने देखिएको छ ।
निसन्तान दाम्पत्तिको कथा आधारित ‘प्रसाद’ को बिहिबार साँझ प्रेमियर भएको थियो । प्रिमियरबाट समेत उच्च तारिफ कमाएको यो चलचित्रले दर्शकको मन जित्ने संकेत देखिएको छ ।


प्रसादको प्रिमियर शोमा चलचित्र निर्माण युनिटका सबैजसो कलाकार सहभागी थिए भने अन्य कलाकारहरुको पनि बाक्लो उपस्थिति थियो । प्रिमियर शो हेरेका अन्य कलाकार तथा समीक्षकहरुले पनि चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ ।
सन्तान नहुँदाको पीडा भोगेका एक दम्पत्तीको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा उच–निच जातबीचको प्रेम–विवाह सम्बन्धलाई पनि छर्लङ्ग रुपमा देखाइएको छ ।