सार्कलाई गति दिन सबै एकमत

भारत किन बन्दै विल्टुवा ?

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना भएको शनिबारबाट ३४ वर्ष लागेको छ । सन् १९८५ डिसेम्बर ८ मा बंगलादेशमा स्थापना भएको सार्क केहीवर्ष यता सुस्त बनेको छ ।
१९ औं सार्क शिखर सम्मेलन हुन विलम्व हुँदा सार्क नै असफल हुने हो कि भन्ने आशंका बढ्दै गएको छ । अध्यक्ष मुलुक नेपाल मार्फत सार्कका महासचिव अमजद हुसेन बी. सियालले विभिन्न सदस्य राष्ट्रलाई शिखर सम्मेलनका लागि घच्घच्याइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चाँडो शिखर सम्मेलन गरेर सार्कको नेतृत्व हस्तान्तरण गर्न नेपाल आतुर रहेको बताएका छन् । नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
चाडै शिखर सम्मेलन गरेर सार्कलाई प्रभावकारी बनाउनेबारे पनि सो अवसरमा छलफल भएको थियो । तर पाकिस्तानले आतंककारी गतिविधिलाई प्रश्रय दिइरहेको आरोप लगाउँदै त्यस्तो कार्य नरोकेसम्म पाकिस्तानमा हुने सम्मेलनमा सहभागि नहुने भारतको अडानका कारण शिखर सम्मेलन हुन सकेको छैन भने नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन ।
सार्क बडापत्र दिवसको अवसरमा विभिन्न देशका सरकार प्रमुखहरुले शुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अति महत्वपूर्ण भएको बताएका छन् ।
सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा एक सन्देश दिँदै सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अति महत्वपूर्ण भएको बताएका छन् ।
तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दै आएको भए पनि आशातीत लक्ष्य हासिल गर्न नसकेको यथार्थ औँल्याउँदै क्षेत्रीय सहयोगका निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको ओलीले उल्लेख गरेका छन् ।
वार्षिकोत्सवका अवसरमा पाकिस्तानका राष्ट्रपति डा. आरिफ आल्भीले पनि एक सन्देश दिँदै विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरिबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गरेका छन् ।
उता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै उक्त सङ्गठनको संस्थापकका नाताले श्रीलङ्काले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा उल्लेख गरेका छन् ।
भुटानका प्रधानमन्त्री लोते छिरिङले दिएको शुभकामना सन्देशमा सार्कले आर्थिक, सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताइएको छ ।
बङ्गलादेशका परराष्ट्रमन्त्री अबुल हसन महमुद अलीले क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिएका छन् ।
यसैगरी, मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको प्रतिवद्धता व्यक्त गर्दै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् ।
अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी सार्कका महासचिव अमजद हुसेन बी सियालले सबै सदस्य राष्ट्रप्रति शुभकामना व्यक्त गर्दै बडापत्रका लक्ष्य र उद्देश्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
सार्कका सदस्य राष्ट्रहरु सवैले सार्कलाई गतिदिनु पर्ने बताएपनि भारत भने सार्कको विकल्प खोजिरहेको छ । पाकिस्तानलाई एक्ल्याउन भारतले विमस्टेकलाई प्राथमिकतामा राखेको कूटनीतिज्ञहरुले बताएका छन् । विमस्टेकमा पाकिस्तान सहभागी छैन । दुई वर्षअघि पाकिस्तानमा हुने भनिएको सार्कको १९ औं शिखर सम्मेलन अन्तिम समयमा आएर भारतकै कारण स्थगित भएको थियो । सम्मेलन गर्न पाकिस्तानले पहल गरिरहेका बेला केही हप्ताअघि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने दोहोर्याएको छ । शिखर सम्मेलनका लागि सार्क सदस्य राष्ट्रमध्ये सवैको सहभागिता अनिवार्य गरिएको छ । जसले गर्दा सार्क शिखर सम्मेलन कहिले आयोजना हुने र यसको भविष्य के हुने हो भन्ने अन्यौल सिर्जना भएको छ ।