पञ्चायतकालमा झन्डा हल्लाउनेहरूले मेरो विरोध गर्ने : सभापति देउवा

काठमाडौं – महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदैछ ।

बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठह¥याउँदै आलोचना गरेका थिए ।

उनले सरकार, संसद र पार्टी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए ।

सभापति देउवाले भने सबैभन्दा बढी त्याग आफैंले गरेको बताए । विरोध र असहयोगका कारण आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै बचाउ गरेका छन् ।

आफूविरुद्ध लाग्न नैतिक रूपमा नमिल्ने भन्दै सभापति देउवाले मनोनीत सदस्यहरूलाई चेतावनीसमेत दिएका थिए ।

मैले नै मनोनीत गरेका सदस्यले मलाई नै गाली गर्ने ? नैतिक रूपमा मिल्ने कुरा हो ? गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’, देउवाले आक्रोश पोखे, ‘पञ्चायतकालमा झन्डा हल्लाउनेहरूले मेरो विरोध गर्ने ?’

गगन थापा र प्रदीप पौडेलले पार्टी हारबारे राजनीतिक प्रस्ताव र सांगठनिक प्रस्ताव कतै पनि उल्लेख नभएकामा आपत्ति जनाए ।

पौडेलबाहेक अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र गगन थापाप्रति उनी खनिएका थिए । सिटौला, केसी र थापा १३ औं महाधिवेशनमा सभापति र महामन्त्रीका प्रत्याशी थिए । पराजित सबै पदाधिकारीलाई देउवाले पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।