विधान मस्यौदामा सहमति जुटाउन कार्यदल
काठमाडौं– नेपाली कांग्रेसले महत्वपुर्ण तीन वटा प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा बाहेकका प्रस्ताव पारित गरेको हो। विधान मस्यौदामा सहमति जुटाउन कार्यदल बनाएको छ । कार्यदलले शनिबार महासमिति बैठकको बन्दसत्रमा पेश गर्ने गरी सहमति जुटाउने जिम्मेवारी पाएको छ ।
शुक्रबारको बैठकमा उपसभापति बिमलेन्द्र निधीले पेश गरेको राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले पेश गरेको सांगठनिक आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रस्ताव पारित गरेको हो । सहमहामन्त्री प्रकाशशरण महतले प्रस्ताव गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघिको बैठकमै पारित भइसकेको छ ।
विधान मस्यौदाका विषयमा सहमति जुटाउन नसकेपछि महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदल बनाएको छ ।
पदाधिकारी बढाउने विषयमा कांग्रेसमा सहमति जुटिसके पनि कुन–कुन पद बढाउने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले जानकारी दिए । उपसभापति र सहमहामन्त्री बढाउन सक्ने अनुमान गरिएको छ । केन्द्रीय सदस्यको संख्या १ सय ४१ रहने सहमती जुटिसकेको छ ।
यस्तै सदस्यता दुई प्रकारकै रहने भएपनि अब क्रियाशील सदस्य र नेपाली कांग्रेसका सदस्य भनिने छ । महासमिति बैठक शनिबार ११ बजे बस्ने तय भएको छ ।