चिनियाँ राष्ट्रपतिको भ्रमण चर्चा मात्रै
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्न चाहेको चर्चा झण्डै दुई वर्षदेखि भइरहेको छ । तर चाजोपाँजो मिलिरहेको देखिदैन । नेपालका प्रधानमन्त्री र उपराष्ट्रपति समेतले पटकपटक चीन भ्रमण गरेका छन् । दलका नेताहरु समेत वारम्वार चीन जाने गर्छन् तर चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्ने वातावरण अझै बन्न नकेको छैन ।
चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगरेको २२ वर्ष भइसकेको छ । सन् १९९६ डिसेम्वरमा तत्कालिन राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए भने सन् २०१२ मा चीनका प्रधानमन्त्री वेन जियावाओले पाँच घण्टा नेपाल बसेर औपचारिकता पूरा गरेका थिए । वर्तमान राष्ट्रपति सी चिनफिङको पहिलो कार्यकाल नेपाल भ्रमण नगर्दै वितेको थियो भने दोस्रो पटक उनी राष्ट्रपति भएपछि नेपाल भ्रमण गर्ने चर्चा निकै भएपनि त्यो चर्चामै सीमित छ ।
चीनका राष्ट्रपतिको व्यस्ततासँगै नेपालको राजनीतिक अस्थिरताका कारण पनि सी चिनफिङको नेपाल भ्रमणमा व्यवधान आएको कूटनीतिज्ञहरुले विश्लेषण गरेका छन् । चीनका राष्ट्रपतिको नेपाल भ्रमणबारे चर्चा चल्न थालेपछि नेपालमा अनेकन किचलो खडा गर्ने काम हुँदै आएको छ । कहिले सत्तारुढ पार्टीभित्रै किचलो त कहिले विपक्षी दलको किचलो । कहिले आन्दोलन त कहिले हड्ताल जस्ता किचलो निकाल्ने कामले भइरहेका छन् ।
वेइजिङस्थित नेपाली राजदूतावासले पनि चीनका राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न प्रयास गरिरहेको बताएपनि नेपालमा राजनीतिक स्थिरता, कडा सुरक्षा व्यवस्था र कूटनीतिक विश्वसनीयताको वातावरण सिर्जना नभएसम्म चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्न सक्ने सम्भावना न्यून रहेको कूटनीतिज्ञहरुको तर्क छ ।
भारत तथा पश्चिमा राष्ट्रहरु नेपाललाई चीनसँग नजिक भएको देख्न चाहदैनन् । नेपाललाई आधार इलाका बनाएर चीनलाई कमजोर बनाउने अमेरिकी स्वार्थ प्रवल हुँदै गएको छ भने भारत नेपाल आफूसँग मात्र नजिक होस् भन्ने ठान्छ । भारतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नहोस् भनेर नेपाललाई अल्मल्याउने काम पनि गरिरहेको छ । नेपालको उच्चस्तरीय भ्रमण चीन जाने र चीनको नेपाल आउने तयारी हुन लाग्यो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने सन्देश पठाउँछन् । मोदी प्रधानमन्त्री भएपछि पाँच पटक नेपाल आइसकेका छन् भने नेपाल आउने चर्चा चलिरहेकै छ ।
आइतबार स्वदेश फर्किनु अघि चीनकी राजदूत यु होङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गर्दै चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्न इच्छा गरेको बताएकी छिन् ।
केही दिनअघि वेइजिङमा आयोजित नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं वैठकमा परराष्ट्र सचिव शंकरदास वैरागी र चीनको परराष्ट्र मन्त्रालयका उपमन्त्री (सचिवस्तरीय) खोङ सुवानऔबीच नेपालको कूटनीति र चीनका राष्ट्रपतिको भविष्यमा हुने नेपाल भ्रमणबारे चर्चा भएको बताइएको छ । सो वैठकमा नेपालका लागि प्रस्तावित राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् । उनी नेपालका बारेमा जानकार मानिन्छन् ।
संयन्त्रको वैठकमा नेपाल र चीनबीचको सम्वन्ध विश्वास र समझदारीमा आधारित रहेको र नेपालको अपेक्षालाई चीनले बुझेको चीनका विदेशमन्त्रीले बताएका छन् । चीनले नेपालसम्म रेलमार्ग ल्याउने र वान वेल्ट वान रोड परियोजनालाई दुई देश मिलेर सफल बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेपालसँग भएको सम्झौता तत्काल पालना गर्न चीन तत्पर देखिएको छ । तर नेपालको कर्मचारीतन्त्रभित्र केही रहस्यमय व्यक्ति भएकाले उनीहरुले चीनलाई प्राथमिकता नदिएर अन्य शक्ति राष्ट्रको चासोलाई सम्वोधन गर्ने गरेकाले चीनसँगका सहमति कार्यान्वयनमा ढिलाई हुँदै आएको कूटनीतिहरु बताउँछन् ।