राजपालाई संविधान संशोधनको ‘ललिपप’
काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले वर्तमान सरकार पूर्ण रुपले असफल भइसकेको र मुलुकमा प्रशासन नै छैन जस्ता अवस्था देखिएको आरोप लगाएका छन् । संविधान संशोधन गर्ने वाचा गरेको नौ महिना वित्दा समेत सरकारले कुनै गृहकार्य नगरेको भन्दै आक्रोश व्यक्त गरेका महतोले पार्टीका आगामी वैठकबाट समर्थन फिर्ता लिने निर्णय गर्ने चेतावनी दिएका छन् । राजपाका अन्य नेताहरुले पनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन पार्टीलाई दवाव दिदै आएका छन् ।
राजपाले समर्थन फिर्ता लिएपछि सरकारलाई कुनै अप्ठ्यारो पर्दैन तर नैतिक र राजनीतिक प्रभाव भने पर्न सक्ने भएकाले राजपाले समर्थन फिर्ता नगरोस् भन्नेमा मनस्थितिमा प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरु देखिन्छन् । राजापका संयोजक महतोले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको केही दिन नविन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको प्रचण्डले बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको र त्यसका लागि प्रयास भइरहेको बताएर राजपालाई थुम्थुम्याउन खोजेका छन् । प्रचण्डको यो संविधान संशोधनको ललिपपमा राजपा भुलिन्छ, भुलिदैन त्यो भने भविष्यले बताउने छ । तर राजपा तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान सक्ने स्थिति देखिदैन । राजपाभित्रै गुटउपगुट बढ्दै गएको छ । संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि राजपाभित्र चर्को मतभेद देखिएको छ । ताक परे पार्टी नै फुट्ने सम्भावना पनि देखिएको छ । जसले गर्दा राजपाका अध्यक्ष मण्डलका नेताहरु संविधान संशोधन नभएपनि संशोधन गर्ने प्रतिवद्धतामात्रै आएपनि कार्यकर्तालाई थामथुम पार्न पाइन्थ्यो भन्नेमा पुगेको सो पार्टी निकट एक वुद्धिजीवीले बताएका छन् ।