देउवा र पौडेल गुटको ‘मेरो गोरुको बाह्रै टक्का
- काठमाडौँ – नेपाली कांग्रेसभित्र पार्टीको विधान संशोधनका विषयमा सहमति जुट्न सकेको छैन। देशभरिबाट आएका महासमिति सदस्यहरु पनि दुई गुटको ‘मेरो गोरुको बाह्रै टक्का’ शैलीले अन्यौलमा छन्।
पार्टीलाई सशक्त बनाउने आह्वान गर्नका लागि बोलाइएको महासमिति बैठक विधानका कारण बरालिन पुगेको छ। पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेको छ। जसका कारण कांग्रेसभित्र विवाद चर्केर गएको हो।
सोही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको छ। साँझ केन्द्रीय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको हो।
पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्व लगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।
अहिले कांग्रेस नेतृत्व रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन्। सोमबार तेस्रो दिन कांग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ।
कांग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ। तर, विधान मस्यौदामा सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो। साँझ ६ बजेपछि बस्ने केन्द्रीय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धी प्रतिवेदनमा कांग्रेस केन्द्रीय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन। पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो।