निर्माण सम्पन्न भएको एक वर्षसम्म मजदूरले ज्याला पाएनन्
दार्चुला- मार्मा गाउँपालिका वडा नं ३ मा एक वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनका अधिकांश मजदूरले काम बापतको ज्याला पाएका छैनन् । स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् ।
विसं २०७२ भदौमा शुरु भएको स्वास्थ्य चौकी भवन निर्माण २०७४ मङ्सिरमा निर्माण सम्पन्न भएको थियो । कूल रु एक करोड ८४ लाख लागतमा निर्माण भएको आवाससहितको भवनमा काम गर्ने मजदूरले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन् ।
भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताए । दैनिक रु ७०० मा काम गरेका हौँ, तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन् । आफ्नो मात्रै काठको काम गरेबापत रु ४५ हजार लिन बाँकी छ । काम गरेका रकम नपाउँदा घरायसी खर्च धान्न समेत धौ धौ परेको उनले बताए ।
उक्त स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्ने मजदूर तथा मिस्त्री डकर्मीको गरी झण्डै रु १४-१५ लाख तिर्नै बाकी रहेको कामदार बताउँछन् । निर्माणको जिम्मा पाएको बङ्गलामुखी कन्सटक्र्सनले अहिलेसम्म आफूहरुको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामी बताउँछन् ।
एक वर्षसम्म काम गरेको ज्याला नपाउँदा परिवार पाल्नै समस्या भएको मजदूरहरु बताउँछन् । काम गरी खाने मजदूरको रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएको उनीहरुको गुनासो छ ।
निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरीले मजदूरको ज्याला तिर्न नसकिएको स्वीकार गर्दै, मैले काम गराएको रु तीन-चार लाख दिन बाँकी छ । स्वास्थ्य चौकी भवन निर्माणमा झण्डै रु ५० लाख घाटा भयो । एउटै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ । घरबाट लगेर दिनलाई रकम छैन उनले बताए ।
भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । भवन जीर्ण हुन थालेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताए ।