रक्तस्राव नरोकिएपछि जहाज चार्टर गरेर नेपालगञ्ज
जाजरकोट-चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका-३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए ।
अहिले प्रतिभाको उपचार जारी रहेको छ । रु दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताए ।
पचास श्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगञ्ज, काठमाडौँमा उपचारका लागि आउन बाध्य भएका छन् ।