अनलाइन डेटिङमा पुरुषभन्दा महिला अघि !
बदलिँदो समयमा प्रेमको परिभाषा पनि परिवर्तन भइरहेको छ । त्यस्तै प्रेमप्रस्ताव राख्ने परम्परामा पनि परिवर्तन आइरहेको छ । पहिला पुरुषले मात्र प्रेमप्रस्ताव राख्ने, आफ्नो भावना प्रस्तुत गर्ने गरेकोमा अहिले महिला पनि विना संकोच आफ्नो भावना प्रस्तुत गर्न अघि बढिरहेका छन् । केही वर्ष पहिले अनलाइन डेटिङलाई निकै हेय दृष्टिले हेर्ने गरिन्थ्यो । तर, अहिले यो एक परम्परा नै भइसकेको छ । यतिसम्म कि मागी विवाह भएको खण्डमा पनि पहिला युवा युवती सामाजिक सञ्जालमा आबद्ध भएर आफ्ना भावना साटासाट गरी एकअर्कालाई बुझेर मात्र विवाहको लागि राजी हुन्छन् ।
अहिले हरेक पाँच सम्बन्धमध्ये एक अनलाइनबाट सुरु हुने गरेको एक अध्ययनले देखाएको छ । त्यसैले अहिले विश्वभर अनलाइन डेटिङ एप र यसका प्रयोगकर्ताको संख्या निकै बढेको छ । अमेरिका र युरोपमा त ठूल्ठूला कम्पनी नै स्थापना भएका छन्, जसले महिला पुरुषलाई मिलाउने काम गर्दछन् ।
अनलाइन डेटिङको यो चलन पश्चिमी देशबाट सुरु भएर हाल विश्वभर फैलिरहेको छ । सन् १९९५ मा स्थापित म्याच डटकम विश्वकै पहिलो अनलाइन डेटिङ साइट हो । त्यसपछि सन् २००० मा ई–हार्मोनी र सन् २००२ मा एस्ले मेडिसिन नामक अनलाइन डेटिङ साइट आए । यी साइटले अनलाइनमा डेटिङको परम्परा बसाएका हुन् । सन् २०१२ मा टिन्डर नामक एप सार्वजनिक भयो । यो नै पहिलो डेटिङ एप हो, जसमा स्वाइपको सुविधा थियो ।
लैंगिक विभाजनका कारण समाजमा महिला र पुरुष दुवैलाई उत्तिकै समस्या परेको छ । लैंगिक विभाजनको समस्या अनलाइनमा पनि त्यतिकै छ । नेपालजस्तो अल्पविकसित मुलुकमा अनलाइन डेटिङ गर्ने महिलाको कमीका कारण पुरुषले आफूले चाहेजस्तो महिला पाउन सकिरहेका छैनन् भने महिलाले पनि छनोटका लागि धेरै पुरुष पाउने हुँदा छनोटमा अलमलिनुपरेको बताइन्छ ।
यही सन्दर्भमा पछिल्लो १० वर्षमा यो अन्तर बिस्तारै घट्दै गएको छ । अनलाइन डेटिङ एपको प्रयोगकर्ता बन्ने महिलाको संख्या दिन दुई गुणा र रात चौगुणा वृद्धि भइरहेको छ । त्यसैले यसले केही समयमा नै महिलापुरुषबीचको दूरीलाई हटाइदिने बताइन्छ ।