कृषकलाई तालिम

पाल्पा । व्यवसायिक च्याउ तथा तरकारी खेती सम्बन्धी तीन दिने तालिम बगनासकाली गाउँपालिकामा भएको छ । निर्धन उत्थान लघुवित्त बैंक आर्यभञ्ज्याङ्ग शाखाको आयोजना र बगनासकाली गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन भएको हो । कृषकहरुलाई व्यवसायिक बनाई आयआर्जमा वृद्वि गर्ने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।
तालिममा बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भागाउँपालिकाका २० जना कृषकहरुलाई तालिम दिइएको थियो । बैंकले वित्तिय कार्यक्रम अन्तर्गत कृषकहरुलाई ऋण प्रदान गरी व्यवसायिक कृषिबाट ग्रामीण भेगका कृषहरुलाई आयआर्जमा लाग्न प्रेरणा दिने हेतुले तालिम सञ्चालन गरेको हो । तालिममा सहभागीहरुलाई च्याउ, तरकारी बजार व्यवस्थापन र परियोजना निर्माण सम्बन्धी तालिम दिइएको थियो । उनीहरुलाई सैद्धान्तिक ज्ञान सँगै अवलोकन भ्रमण समेत गराइएको छ । तालिममा बगनासकाली गाउँपाकालीकाका कृषि शाखा प्रमुख सन्तोष जिसी, बैंकका आर्यभञ्ज्याङ्गका शाखा प्रवन्धक कृष्णकान्त अधिकारी र बैंकका क्षेत्रीय कार्यालयका शाखा अधिकृत खुमबहादुर खड्काले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण दिर्दै कृषि शाखा प्रमुख जिसीले गाउँपालिकाले अंगालेको कृषि कार्यक्रममा वित्तिय संस्थाहरुले पनि समन्वय गरेकाले कृषकहरुलाई निर्धक्क भएर व्यवसायिक कृषिमा लाग्न आग्रह गरे । साथै प्रशिक्षक जिसीले तालिम लिएर व्यवहारमा कार्यान्वयन गर्न सके मात्रा आर्थिक समृद्वि हासिल गर्न सक्नेमा जोड दिए ।