पत्रकार महासंघको राष्ट्रिय सम्मेलन : १८ बुँदे विराटनगर घोषणापत्र जारी

विराटनगर । नेपाल पत्रकार महासंघले राष्ट्रिय सम्मेलन १८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा बिहीबार भएको राष्ट्रिय सम्मेलनले नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका व्यवस्था अनुसार कानुन निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गरेको छ ।
महासंघले प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न पनि माग गरेको छ । त्यस्तै फौजदारी मूलुकी संहिता ऐन र देवानी मूलुकी संहिता ऐन २०७४ मा प्रेसमाथि अंकुश लगाउने केही प्रावधान रहेकोमा संविधानसँग बाझिएका ती प्रेस स्वतन्त्रता बिरोधी सम्पूर्ण प्रावधान खारेज गर्न माग गरेको छ ।
त्यस्तै महासंघको चुनावलाई भद्धा हुनबाट जोगाउन, कम खर्चिलो बनाउन, पार्षद बन्नकै लागि गैरपत्रकारलाई सदस्यता दिने चलन हटाउन र पत्रकारिता क्षेत्रलाई शुद्धिकरण गर्न विराटनगरमा सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने निर्णय गरेको बताइएको छ । महासंघकै प्रदेश चुनावमा प्रत्यक्षको अभ्यास पहिलोपल्ट सफलतापूर्वक भइसकेको छ । केन्द्रीय समिति बैठकले अबको चुनाव प्रत्यक्ष प्रणालीबाटै गराउन आवश्यक निर्णय गरी परिवर्तनको आभास् दिनु पर्ने आम पत्रकारले माग गरेका छन् ।