महेन्द्र नमुना माविमा दिवा खाजा

गुल्मी । महेन्द्र नमुना माध्यामिक विद्यालय रेसुङ्गा नगरपालिका तम्घास गुल्मीमा आज कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका बिद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रमको उद्घाटन गरिएको छ । गत आइतबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाहरुलाई खाजा वितरण गरी उद्घाटन गर्नुभएको हो ।
खाजा वितरण गदै नगरप्रमुख भुसालले विपन्न परिवारका बालबालिकाहरु यसबाट बढी लाभांवित हुने बताउनुभयो । खाजा कति गुणस्तरयुक्त छ छैन् भनी बेलाबेलामा विद्यालयबाट अनुगमन समेत गरीनुपर्ने बताउनुभएको थियो । नगरप्रमुख भुसालले बालबालिकाहरु नै भोलीका कर्णधार भएकाले अहिले यीनीहरुको शिक्षा,दिक्षा,भोजन जस्ता कुराहरुमा अभिभावकहरु पनि बढि सचेत बन्नु पर्ने बताउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुको संख्या वृद्धि हुँदै जाने बताउनुभएको थियो । गरिब,विपन्न परिवारका बालबालिकाहरु पनि यस कार्यक्रमले गर्दा शिक्षा लिनबाट बञ्चित नहुने बताउनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापाले दिवा खाजाले गर्दा सामुदायिक शिक्षा तर्फ विद्यार्थीहरुको आर्कषण बढ्ने बताउनुभएको थियो । दिवा खाजाका कार्यक्रमले गर्दा बालबच्चाहरुमा नयाँ उत्साह देखिएकाले एकआपसमा एकता र मित्रताको भावना पनि विकास हुँदै जाने बताउनुभयो ।
नेपाल सरकारको कार्यक्रम अनुसार रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा रेसुङ्गा नगरपालिका भित्र रहेका ३२ ओटा सामुदायिक विद्यालय तथा १० वटा समुदायमा आधारित बालविकास केन्द्रहरुमा यस अघि नै विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकमा पौष १ गतेदेखि लागु हुने गरी कक्षा प्ले ग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको थियो । प्रति विद्यार्थी रु १५ रुपैँयाका दरले दिवा खाजा वितरण गरिने बताईएको छ ।
महेन्द्र माध्यामिक विद्यालयले दिवा खाजा फरक बार अनुसार फरक–फरक खाजाका परिकार खुवाउने विद्यालयले जनाएको छ । खाजाका लागि आफ्नै परिसरभित्र रहेको चमेनागृहमा बालबालिकाहरुका लागि खाजा तयार पारीने गरी सम्झौता पनि गरिएको छ । जस अनुसार आइतबार खीर र अचार,सोमबार चना र भुजा,मङ्गलबार समोसा र मटर, बुधबार हलुवा र अचार, बिहिबार खीर र अचार शुक्रबार अण्डा खुवाईने बताईएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक युवराज ज्ञवालीले गर्नुभएको थियो ।