समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउनुस् : सभापति देउवा( भिडियो सहित )

काठमाडौ – महासमिति बैठकको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताउनुभयो ।

पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भन्नुभयो, “विधानमा गरिएको समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउनुस्, काङ्ग्रेसलार्ई कसैले हराउन सक्दैन ।”

वर्तमान सरकार मुलुकमा एकदलीय निरङ्कुशता लाद्न उद्दत रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउँदैछ, तयार हुनुहोला, एकदलीय निरंकुशता परास्त गर्न सबै एकजुट हुनुपर्छ ।”

सभापति देउवाले काङ्ग्रेसले आफू हारेर पनि देश र प्रजातन्त्र जित्ने गरी विगतमा चुनौतीपूर्ण वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । पार्टीमा अनुशासन कायम गर्न अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने उहाँको भनाइ थियो ।