सुत्केरीलाई घ्यू,अण्डा र सरसफाइका सामग्री प्रदान

बैतडी- मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन  गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो ।

चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ । सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताए। संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए । पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले रु सात लाख छुट्याएको छ ।