आयल निगमको कार्यकारी निर्देशकका लागि ५ जना उम्मेदवार छनौटमा
काठमाडौँ-नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो ।
समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा ,तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम ‘सर्ट लिष्ट’मा निकालेको हो । पौडेल हेटौंडा सिमेन्ट कारखानाका महाप्रबन्धक हुन् भने धिताल वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन् ।
त्यस्तै अनिल झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्व महाप्रबन्धक हुन् । पाँचै जनाले आ-आफ्नो कार्ययोजना पेश गरेपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषदले आयल निगमको कार्यकारी निर्देशमा नियुक्ति गर्नेछ ।