झापामा आगलागीबाट २२ घर-टहरा भयाे खरानी

बिर्तामोड – झापाको मेचीनगर–६ स्थित एक वस्तीमा भीषण अागलागी हुँदा २२ घर जलेर खरानी भएका छन् । ‘साठी बिघा’ नामक वस्ती (पुरानो भन्सार क्षेत्र) मा गएराति फैलिएकाे अागाले करिब २२ घर तथा टहरा जलेर नष्ट भएका हुन् । राति करिब ८ बजेबाट आगलागी सुरु भएकोमा केही घण्टाभित्रै दमकलकाे सहायताबाट अागाे नियन्त्रणमा लिइएकाे थियाे ।

नौ वटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएकाे थियाे । स्थानीय छविलाल आङदाम्बेको घरबाट अागाे सल्किएकाे काँकडभिट्टा प्रहरीले जनाएकाे छ । लाेडसेडिङ भएपछि उनले मैनबत्ती बालेर राख्दा ग्यास सिलिण्डरको पाइप सल्किन पुगेकाे र साेही ग्यासबाट अागलागी सुरु भएकाे प्रहरीले भनाइ छ ।

प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर र १६ वटा टहरामा क्षति पुगेकाे र करिब डेढ करोडभन्दा बढीको नाेक्सानी भएकाे छ । घरका साथै होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर खरानी भएका छन् । अागाे सल्किएकाे आङदाम्बेको घर र आसपासका घर तथा टहरा चित्रा र फुसले बनाइएका थिए, साेही कारण अागाे छिटाे फैलिएकाे र बढी क्षति पुगेकाे जनाइएकाे छ ।