नेकपामा प्रचण्ड–गौतम योजना तुहियो
माधव पक्ष रक्षात्मक, ओली पक्ष झन् बलियो
काठमाडौं । मंसिर २९ गतेदेखि शुरु भएको सत्तारुढ नेकपाको स्थायी समिति वैठक शुक्रबार सम्पन्न भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैठकमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै स्थायी समिति सदस्यहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै अध्यक्षद्वयको आलोचना गरेका थिए । प्रतिवेदनप्रति विशेषतः पूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले आलोचना गरेका थिए । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्षद्वयले आत्माआलोचना गर्नुपर्ने र प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने माग गरेका थिए । वैठकमा ओली पक्षका नेता र पूर्वमाओवादीका अधिकांस नेताहरुले सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा गरेका थिए ।
हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टीका नेताहरु र प्रधानमन्त्री, मन्त्रीहरुको सक्रिय सहभागितालाई लिएर नेताहरुले वैठकमा चर्को विरोध गरेका थिए । आफूविरुद्ध लगाइएका लाञ्छना र प्रतिवेदनप्रति उठाइएका फरक मतको जवाफ दिदै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले अढाई घण्टा सम्वोधन गरेका थिए । उनले सरकारले राम्रो काम गरिरहेको र जनताबाट वाह्वाह् पाएपनि आफ्नै पार्टीभित्रबाट विरोध हुनु अशोभनीय भएको तर्क गरेका थिए । पार्टी एकतामा केही ढिला भएको स्वीकार गर्दै ओलीले चाँडै एकता प्रक्रिया टुंगिने बताएका थिए । तर फरक मत राख्ने नेताहरुले चित्त नबुझाएपछि अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पारित भएको छ ।
शुक्रबार बसेको बैठकले परिमार्जित प्रतिवेदन सचिवालयमा पेश हुने गरी पास गरेको बताइएको छ । त्यस्तै पुष्पकमल दाहालको प्रस्ताव अनुसार संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र लेखराज भट्ट रहेका छन् ।
कार्यदलको प्रस्तावका आधारमा पुसभित्रै अर्को स्थायी कमिटी वैठक बसेर संगठनात्मक काम सम्पन्न गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
वैठकमा स्थायी समितिका ४७ जनाले दस्तावेज र सरकार सञ्चालन बारे धारणा राखेका थिए । सरकार तथा पार्टी सञ्चालन बारे वरिष्ठ नेताहरु समेत असन्तुष्ट देखिएपछि प्रतिवेदन परिमार्जन गर्न अध्यक्षद्वय तयार भएका हुन् । वामदेव गौतम, भीम रावल, घनश्याम भुषाललगायतका नेताहरुले जस्ताको तस्तै प्रस्ताव पारित गर्न नसकिने दवाव दिएका थिए ।
एक्लिए वामदेव
स्थायी समितिमा बोल्नेहरु मध्ये सवैभन्दा चर्को विरोध नेता वामदेव गौतमले गरेका थिए । अध्यक्षद्वयको प्रतिवेदनसँगै नेता गौतमले फरक मत सहितको छुट्टै प्रतिवेदन पेश गरेका थिए । बिहीबार राति नै अध्यक्षद्वयको प्रतिवेदन पास हुने तयारी भएको थियो । तर नेता गौतमले फरक मत लेख्ने धम्की दिएका थिए भने उनलाई घनश्याम भुषाल, भीम रावललगायतका नेताले साथ दिएपछि शुक्रबार पुनः वैठक बसेर परिमार्जन गरिएको स्रोतको दावी छ ।
गौतमले आफ्नो प्रस्तावमा अध्यक्षद्वयको कार्यशैलीको चर्को आलोचना गरेका छन् भने सरकारमाथि योजनावद्ध ढंगले आक्रमण भइरहेको ओली र दाहालको प्रतिवेदनमा उल्लेख छ । वैचारिक आक्रमण कसले गरिरहेका छन् त ? भन्ने प्रश्नको जवाफमा दाहाल र ओलीको प्रतिवेदनमा वुर्जुवा, राजतन्त्रवादी, अतिवादी, पश्चगमनकारी र यथास्थितिवादीलाई वर्तमान सरकारमाथि योजनावद्ध हमला गर्ने शक्तिका रुपमा व्याख्या गरिएको छ ।
ओली र दाहालको प्रतिवेदनले राजतन्त्रवादी र यथास्थितिवादीको अस्तित्व स्वीकार गरेको पाइन्छ । राजनीतिक स्थायित्व, समृद्धि आत्मनिर्भरताको बाटो उनीहरुलाई पाच्य हुन सकेको छैन भन्ने पनि प्रतिवेदनमा आरोप लगाइएको छ ।
गौतमको फरक मतमा एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने लगायतका प्रस्ताव अघि सारेपछि अध्यक्ष ओलीले त्यसलाई गौतम र दाहालको गोप्य साँठगाँठको परिणति ठानेका थिए । तर प्रचण्डले त्यो आरोपबाट बच्न आफू समर्थकहरुलाई ओलीका पक्षमा मत राख्न लगाएका थिए । तर पनि ओली दाहालप्रति सशंकित नै देखिएका छन् भने ओली र गौतमको समेत दुरी बढेको छ ।
गौतमले आफ्नो ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास गरेका थिए । तर बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा गएन । जसले गर्दा गौतम एक्लै बने ।
गौतमनिकट स्रोतका अनुसार स्थायी कमिटी बैठक शुरु हुनुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले छलफल गरेका थिए । उनले आफ्नो ‘फरक मत’ को मस्यौदा त्यसअघि नै ती नेताहरुलाई अध्ययनका लागि दिएका थिए । चारैजना नेताले सचिवालय बैठक बहिस्कार गरेपछि उनीहरुले स्थायी कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनलाई चुनौति दिने अनुमान पनि गरिएको थियो । तर गौतम वाहेकका सचिवलाय सदस्यहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि लिखित रुपमा फरक मत राखेनन् ।
माधव नेपालले तत्काल यसलाई गौतमले व्यक्तिगत मतका रुपमा लैजानु उपयुक्त हुने भन्दै साझा दस्तावेज बनाउने प्रस्ताव अस्वीकार गरेपछि झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि गौतमको फरकमतको साझेदार बन्न चाहेनन् ।
गौतमको फरक मतमा अधिकांश शब्द ओलीको आलोचनामा केन्द्रित भएपछि नेता नेपालले गौतमलाई अहिले नै ‘वार कि पार’को अवस्थामा जान नहुने सुझाव समेत दिएका थिए । ओली वा गौतम कतैतिर पनि ढल्किन नचाहेका नेताहरुले दुवै पक्षको प्रतिवेदन पूर्वाग्रही भएको आरोप लगाएका थिए ।
नेता गौतमलाई अघि सारेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच तनाव बढाउने र त्यसको फाइदा आफूले लिने पुष्पकमल दाहालको रणनीति यसपटकलाई असफल देखिएको छ । ओलीका आलोचक रहेका नेपाल, खनाल, श्रेष्ठलगायतका नेताले वामदेव गौतमको पक्ष नलिएकै कारण गौतमका माग पूरा भएका छैनन् भने विगतमा एमाले फुटाएर माले बनाउँदा साथ दिएका नेताहरुले पनि यसपटक उनको साथ छोडेका छन् । जसले गर्दा गौतम पार्टीभित्र एक्लिने अवस्था देखिएको छ भने गौतममार्फत आफ्नो रणनीति पूरा गर्ने दाहालको योजना पनि असफल हुने देखिन्छ ।
करीब ५ वर्षदेखि केपी ओलीलाई साथ दिएका गौतम नै अहिले नेकपामा ओलीका सबैभन्दा चर्को बिरोधी बनेका छन् । नवौं महाधिवेशनबाट वामदेवसँग अलग भएका घनश्याम भुसालहरुले गौतमलाई साथ दिए पनि गौतमका सदावहार सहयोगी नेताहरु भने ओलीतिर लागेका छन् । ४५ सदस्यीय स्थायी कमिटीमा वामदेव गौतम निकट भनेर चिनिएका किरण गुरुङ र रघुवीर महासेठले पनि उनलाई साथ दिएनन् । उनीहरुले गौतमको फरक मतलाई समर्थन वा मौन वस्नु त कता हो कता ‘आरोप र कुण्ठाको पुलिन्दा’ को संज्ञा दिएपछि नेता गौतमलाई ठुलै झड्का लागेको छ ।
स्थायी कमिटीमा गौतमलाई साथ नदिए सँगै केन्द्रीय कमिटी र जनसंगठनका वामदेव निकट रहेका नेताहरु पनि ओलीतिर नजिक देखिन्छन् । वामदेव गत निर्वाचनमा पराजित भएका थिए भने त्यसपछि निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर सांसद बन्न उनले धेरै प्रयास गरेका थिए । तर पार्टी नेता, कार्यकर्ताबाट चर्को आलोचना भएपछि उनको त्यो प्रयास असफल भएको छ भने भविष्यमा समेत उनलाई सांसद जित्ने सम्भावना टर्दै गएको छ । यसले गर्दा वामदेवसँग लाग्दा राजनीतिक भविश्य अनिश्चित हुने देखेपछि उनी समर्थकहरु ओलीतिर नजिकिएका छन् ।
वामदेव निकट मानिने केन्द्रीय सदस्य महेश्वर पाठक, मन्त्री रविन्द्र अधिकारी, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल, पर्यटन राज्यमन्त्री धनवहादुर बुढा, अनेरास्ववियुको अध्यक्ष समेत रहेकी सांसद नविना लामा सांसद राजेन्द्र राई, सांसद लालबहादुर थापा, सांसद दलवहादुर रानालगायतका नेता ओलीतिर लागेका छन् ।
एमाले फुटाएर माले बनाउँदा गौतमलाई साथ दिएका युवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, शेरवहादुर तामाङ, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धर ठाकुर गैरे, रामकुमारी झाँक्रीहरु नवौं महाधिवेशनदेखि नै माधव नेपाल पक्षमा लागिसकेका छन् । यसले गर्दा नेकपामा वामदेव गौतम एक्लिदै गएका छन् । उनी एक्लिनुको मुख्य कारण प्रचण्डका प्रयोगका पात्र बन्नु नै देखिन्छ । गौतमले सांसद बन्ने तीव्र इच्छा देखाउनुमा पनि प्रचण्ड प्रभाव रहेको पार्टीभित्र टिप्पणी हुँदै आएको छ । गौतमलाई सांसद बनाएर वैकल्पिक प्रधानमन्त्रीका रुपमा अघि सार्ने, पार्टीमा ओलीको अलोचना गर्न लगाएर पूर्व एमालेभित्र खेल्ने प्रचण्ड रणनीति अनुुसार गौतम चल्दा उनी पार्टीभित्र चर्को आलोचनाको शिकार त भएका छन् नै उनको राजनीतिक भविष्य समेत संकटमा परेको छ ।