महेन्द्र आदर्शको महोत्सव अघि नै ७५ लाख संकलन

गुल्मी । गुल्मीको वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयले मनाउन गईरहेको हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञानमहायज्ञको दुई महिना अघि नै ७५ लाख रुपैयाँ संकलन भएको छ ।
फागुन १३ देखि २० गते सम्म हुने कार्यक्रममा अहिले देखि नै अपेक्षा भन्दा बढि ७५ लाख रकम संकलन भएकोमा मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारका वडाध्यक्ष तथा मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले थप उत्साहित भएको प्रतिकृया दिए ।
उनले करिव ५ करोड संकलन गर्ने लक्ष्य लिईएको बताए । वर्तमान शिक्षा ब्यवहारिक नभएको आवाज उठिरहेका बेला प्राविधिक शिक्षा सञ्चालनका लागि धन–धान्याचल सप्ताह आयोजना गरिएको प्रधानाध्यापक बुद्धिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यति वेला प्रचार प्रुसार तिव्र पारिएको छ ।
विद्यालय स्थापनाको ६० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको समारोह सफल पार्न विभिन्न ३३ वटा उपसमिति गठन गरिएको छ । तेजेन्द्र जिसीको संयोजकत्वमा प्रचार प्रसार समितिले स्थानिय देखि देश विदेश सम्म प्रचार प्रशार गरिरहेको छ ।
प्रमुख वाचकका रुपमा भागवत भाष्कर पण्डित कमलनयन गौतमलाई ल्याइने भएको छ । ५५ लाख भन्दा बढि दान गर्ने दानविरले ईच्छाएको ब्यक्तिको विद्यालय वाटिकामा पुर्णकदको शालिक निर्माण गरिने भएको छ । ४० देखि ५५ लाख सम्म दानविरका परिवाजनका ४ जना सदस्यहरुलाई हेलिकोप्टरबाट नगर परिक्रमा गराई दानविर वा उनले ईच्छाएको ब्यक्तिको अर्धकदको शालिक निर्माण र सम्मान गरिने छ ।
त्यस्तै अन्य राशीअनुसारको सम्मान गरिने मुल आयोजक समितिले जनाएको छ । मुसिकोट नगरपालिकाका अधिकांस मानिसहरु अमेरिका, जापान, वेलायत, युरोप सहित विभिन्न विकसित मुलुकमा कार्यरत रहेको, धन भन्दा बढि मन भएकाहरु रहेकोले पनि आयोजकहरु लक्ष्यमा पुग्ने विश्वास लिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा बताउँ छन् ।
उनले प्राविधिक क्याम्पस सञ्चालनका लागि त्यस विद्यालयलाई ५० लाख उपलब्ध गराईने बताए । कृषि, कम्प्युटर र ईञ्जिनियर यी तीन विषयका लागि यस आर्थिक बर्ष एक एक विद्यालयलाई ५० लाखका दरले डेढ करोड छुट्टाएको जानकारी दिदै उनले त्यो रकम मध्ये महेन्द्र आदर्श माविलाई ५० लाख दिईने, जुन रकम धन–धान्याचल संग पनि जोडिने बताए ।
उनका अनुसार महेन्द्र आदर्श माविमा आगामी शैक्षिक सत्र देखि ईञ्जिनियरिङ्ग बिषयको पढाई सञ्चालन गरिने छ । कृषिमा कक्षा ९ देखि १२ सम्मको पढाई आँपचौरको दुर्गा भवन माविका लागि ५० लाख दिईने छ । उसले थप रकम जुटाउने तयारी गरिरहेको छ । कम्प्युटर साईन्स कक्षा सञ्चालन त्रिभुवन मावि कुर्घा भुवाचिदीलाई ५० लाख दिईने छ । उसले गत बर्ष स्वर्णमहोत्सव गरेर २ करोड रुपैयाँ जुटाई पनि सकेको छ ।