टीकापुर घटनाका अभियुक्तले सपथ लिए

काठमाडौं – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् ।कृषिसमितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

सर्वोच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो ।पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।