अशक्त परिवारलाई वास र गाँसको व्यवस्था
सर्लाही । ‘आफ्नो लागि त सबै बाच्छन् तर अरुको लागि बाच्नु हो जिन्दगी’ भन्ने भनाइलाई सार्थक तुल्याउदै लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका अध्यक्ष साकार शर्मा (चौलागाईं) नेतृत्वको टिमले एक उदाहरणीय काम गरेको छ । सर्लाही जिल्लाको लालबन्दी बजारबाट उत्तर–पूर्ब गाडीमा लगभग ३ घन्टाको अफ्टेरो यात्रा पछि पुगिने ईश्वरपुर नगरपालिका वडा नम्बर १२ मा अबस्थित ठुलो शिर फुलजोर भन्ने ठाँउमा अति नै दयनीय अशक्त अबस्थामा आफ्नो कालपर्खने बाहेक अरु केही नभएका एक घर परिवारलाई घर निर्माण गरिदिएका छन् । उनीहरुलाई चाहिने लत्ताकपडा, रासन आदि त्यहाँका वडाअध्यक्ष नागेन्द्र पाख्रीनको रोहवरमा प्रदान गर्ने गरिएको छ ।
३ जनाको परिवार रहेको उनीहरुको घरमुली ८० बर्षका वृद्ध हिड्डुल गर्न नसक्ने, हातखुट्टा सुकेका र वृद्धा ७९ बर्षकी दुबै आँखा नदेख्ने र छोरी लाटि, सुस्तमनस्थिति भएको बताइएको छ । घरमा खान एकगेडो दानासम्म केही नरहेको र पुष–माघको शिरेटोमा बस्ने ठाँउ चारैतिरबाट हावा छिर्ने अवस्थाको थियो । उनीहरुको अबस्था देख्दा जो कोहीका आँखा रसाउँछन् । यस्तो अवस्थामा रहेकाहरुलाई सहयोग गरेर लायन्सले पुन्यको काम गरेको छ । सहयोगी हातहरुलाई स्थानीयहरुले धन्यवाद दिएका छन् ।