चलचित्र ‘१०० कडा १०’ मा भ्रष्टाचारलाई दनक
काठमाडौं । नेपाली समाजमा बढ्दै गएको भ्रष्टाचारलाई विषयवस्तु बनाएर चलचित्र ‘१०० कडा १०’ बनेको छ । माघ १८ गतेदेखि प्रदर्शनीमा आउने यो चलचित्र देशमा मौलाउँदै गएको भ्रष्टाचार उन्मूलनका लागि ‘भ्रष्टाचारविरुद्ध प्रेम’ भन्ने अवधारणा अनुसार बनेको बताइएको छ ।
भ्रष्टाचार उन्मूलन हुनुपर्ने विभिन्न क्षेत्रले आवाज उठाएपनि चलचित्रमा यो विषयले प्राथमिकता नपाएकाले आफूले यस विषयलाई चलचित्रमा समेट्न प्रयास गरेको चलचित्रका लेखक तथा निर्देशक रामशरण पाठकले बताएका छन् ।
युवापुस्तालाई स्वच्छ नेपालको अवधारणामा अघि बढाउन चलचित्र फलदायी हुने अपेक्षा गरेको पनि उनले बताए । उनले यो चलचित्र मार्फत नेपाली समाजको वास्तविक चित्रणलगायत सामाजिक र सांस्कृतिक पक्षलाई समेत उजागर गर्न खोजिएको बताएका छन् ।
चलचित्रमा एक सरकारी कर्मचारी कतिसम्म भ्रष्टाचारी हुन्छ र उसले भ्रष्टाचार गरे पनि कसरी निर्धक्कसँग जीवन बिताइरहेको हुन्छ भन्ने कुरालाई चलचित्रमा उतार्न खोजिएको उनले बताए । साथै भ्रष्टाचारीलाई समेत कसरी मायाका कारण पगाल्न सकिन्छ भन्ने कुराको चित्रण चलचित्रले दिएको दावी उनको छ ।
चलचित्रमा मनोज गजुरेल सामाजिक अभियन्ताको भूमिकामा छन् । उनको यो डेव्यु चलचित्र हो । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका कलाकार राजाराम पौडेलले चलचित्रमा भ्रष्ट कर्मचारीको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा पौडेलका छोरा र गजुरेलकी छोरी प्रेममा बाँधिएपछि अन्ततः विवाहको फैसलामा पुग्छन् । राजारामका घरमा मनोज पुगेपछि उनी भ्रष्ट भएकै कारण जिन्दगीभर उनको घरमा प्रवेश नगर्ने प्रण गर्छन् । छोराछोरीको प्रेम र भ्रष्टाचार एकै ठाउँमा मिसिएको प्रसङ्गले चलचित्रलाई केही रोचक बनाउन खोजेको छ । एउटा भ्रष्टाचारीलाई कसरी आत्मग्लानीको स्थितिसम्म पु¥याउँछ भन्ने प्रशङ्गलाई समेत चलचित्रमा उतारिएको छ ।
रञ्जु प्रधान, उत्तम कार्की, डिआर उपाध्याय र सञ्जिव न्यौपानेले निर्माण गरेको यो चलचित्रमा राजाराम पौडेल, अनुरोध ढुङ्गाना, रश्मी भट्ट, रवि डङ्गोल, अमित पोख्रेल, एनबी गुरुङ, मनोज गजुरेल, करुणा श्रेष्ठलगायतको भूमिका रहेको छ ।
नायिका करुणा श्रेष्ठको पनि यो डेव्यु चलचित्र हो । मिस कलेज २०११ की बिजेता करुणाले प्लस टुमा जिव विज्ञानको अध्ययन पूरा गरेकी छन् । फिल्ममा उनलाई लवर गर्लको भूमिकामा देख्न सकिन्छ ।