प्रदेश ५ को राजधानी पायक पर्ने ठाउँमा हुनु पर्छः नेता शर्मा
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा ५ नम्वर प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मा .(अपार) ले प्रदेश ५ को राजधानी बर्दिया, बाँके, रुकुम र रोल्पा सम्मका जनतालाई पायक पर्ने स्थानमा राखिनु पर्ने धारणा राखेका छन् । गुल्मीको पार्टी कमिटी संग भेटघाट, छलफल र स्थानिय कमिटीका अध्यक्ष र सचिवहरुलाई सपथ ग्रहण गराउन सदरमुकाम तम्घासको जिल्ला पार्टी कार्यालय पुगेका नेता शर्माले सञ्चारकर्मीहरुको जिज्ञासामा यस्तो धारणा राखेका हुन् ।
हुन त यो विषयको छिनोफानो गर्ने जिम्मा प्रदेश सभाको हो र त्यस विषयमा प्रदेश सभाको सांसदहरु लाग्दै आउनुभएको पनि छ तर मेरो व्यक्तिगत् धारणा राख्नु पर्दा सवै जनताको विच भागमा सारियो भने सवैलाई पायक पर्ने देख्दछु । उनले यस विषयमा प्रदेश कमिटीको पार्टीमा छलफल भई नसकेको बताउँदै भने–‘ छलफल गरी पार्टीको तर्फबाट सुझाव दिन सकिने छ ।’
सुझाव संकलनका लागि सांसदहरु विभिन्न जिल्ला दौडाहामा पुग्ने चर्चा बाहिर आई रहेका बेला प्रदेशको नामाकरण समेत के गर्न उचित होला ? भन्ने जिज्ञासा उनले पर्यटकीय क्षेत्र लुम्विनी र बुद्धको जन्मथलो, रुरु, रेसुङ्गा, सिस्ने, जलजला जस्ता स्थानहरुको नामाकरण गर्न पनि उपयुक्त हुने बताए ।
पार्टी संगठनबारे उनले अब छिट्टै जिल्लादेखि पालिका स्तर वडा स्तरसम्म संगठन निर्माणको अभियानमा लागिएको र त्यस लगत्तै जनवर्गीय संगठन निर्माण गरिने जानकारी दिए । प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ८४ वटा पालिका स्तरीय नेतृत्व चयन भईसकेको र बाँकी २६ वटामा केही दिन भित्रै टुङ्गो लाग्ने उनले बताए ।
पार्टी कमिटीका कार्यक्रममा नेताहरुमा भन्दा पार्टी एकताको उल्लास र पूर्व दुई पार्टीका कार्यकर्तामा भावनात्मक सम्वन्ध झाङ्गिदै गएको उनको बुझाई छ । नेतृत्व चयन गर्ने क्रममा कार्यकर्तामा असन्तुष्टि पनि बढेको प्रति ध्यानाकृष्ट गराउँदा उनले भने –‘स्वभाविक रुपमा आकांक्षा र अपेक्षा कार्यकर्तामा हुन्छ नै त्यसका वावजुद पनि यति बिशाल पार्टीको सदस्य हुनुमा नै कार्यकर्ताहरुले गर्व गरिरहेको मैले पाएको छु ।’
अहिले नै जिम्मेवारी पाईन भनेर कार्यकर्ता नअत्तालिन आग्रह गर्दै उनले थुप्रै विभाग र जिम्मेवारी भएकोले सबैले जिम्मेवारी पाउने कुरामा ढुक्क हुन आग्रह गर्दछु । स्थाई कमिटीको बैठकले पार्टी एकतालाई मजवुद पारेको र लगत्तै पार्टी संगठन धमाधम निर्माण गरिने काम चाँडै नै पार्टी एकिकरणले पूर्णता पाउने उनले बताए ।
सरकार गठनको एक वर्ष राज्यकोषमा ढुकुटी निर्माण वर्ष, कानुन निर्माण र समृद्धिको जग निर्माणको वर्षका रुपमा बुझीदिन सर्वसाधारणलाई आग्रह गदै अब विकास र जनताको समृद्धिका पक्षमा दृढतापुर्वक लागिने उनको भनाई थियो । दुई महिना भित्रमा देशभरीका पार्टी संगठन निर्माण भई सक्ने र दुई वर्ष भित्रमा महाधिवेशन गरिने उनले बताए । उनले पार्टी भित्र गुट नरहेको जिकिर गर्दै सबै नेताहरु पार्टी एकिकरणलाई मजवुद पार्न लागिपरेको बताए ।
अर्को एक प्रसंगमा नेता शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो चरणको दौडधुप र समर्थकहरु विचको भेटघाट निरर्थक भएको बताएका छन् । प्रतिगमनका लागि पुराना शक्ति बेला बेलामा जुर्मुराउन खोज्नु स्वभाविक भएको बताउँदै उनले भने– ‘मुलुक एउटा युगमा प्रवेश गरीसक्यो अव जो कोही प्रतिगमनकारी जुर्मुराउनु निरर्थक प्रयास मात्रै हो ।
नेता शर्माले १२ वटा पालिका कमिटीका अध्यक्ष र सचिवहरुलाई पार्टी कार्यालय पुष्पलाल स्मृति भवनको सभाहलमा सपथग्रहण गराएका थिए । नेकपा प्रदेश कार्यदलका सदस्य मधुकृष्ण पन्तको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला अध्यक्ष वालसिंह काउछाले विषयवस्तु वारे प्रकाश पारेका थिए । पार्टी सचिव बुद्धि जिसीको स्वागत् मन्तव्य रहेको थियो भने प्रदेश कार्यदलका अर्का सदस्य विरबहादुर कार्कीको सञ्चालन रहेको थियो ।