मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा मिस नेपाल श्रृंखला खतिवडा ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएकी छिन् । नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको वाणिज्य बैंकले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकिङ सेवालाई अझै प्रभावकारी बनाउन र नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्न मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिएकी छिन् । उनले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना समेत व्यक्त गरिन् ।
५३ वर्ष अघि स्थापना भएको सो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन् । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले हालसम्म १ अर्व १२ करोड खुद मुनाफा आर्जन गर्न पनि सफल भएको छ ।