राष्ट्रिय एकता र पृथ्वीविचारको सान्दर्भिकता

नेपालमा राष्ट्रिय एकता कमजोर बन्दै गएकोमा धेरैले चिन्ता गरिरहेको अवस्था छ । जात, धर्म, सम्प्रदाय, क्षेत्र तथा रंगका आधारमा आफ्नो पहिचान खोज्ने प्रवृत्ति बढ्दै जाँदा राष्ट्रिय एकता कमजोर हुनु स्वभाविक हो । राष्ट्र नै शिथिल, विभाजित र अन्यौलग्रस्त भयो भने आगामी दिनहरु झन् जटिल बन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । तसर्थ राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने विषयमा विभिन्न कोणबाट वहस हुन आवश्यक छ ।
नयाँ संविधानले संघीयताका बारेमा गरेको व्यवस्थाका कारण अहिले नेपालका विभिन्न भागमा असन्तुष्टिका स्वरहरु सुन्न थालिएको छ । राष्ट्र अखण्ड रहनुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेको अवस्था छ । संघीयताले फाइदा भन्दा बेफाइदा बढी छ भन्ने कुरा पुष्टि हुँदै गएको छ । कैयन् विद्वान, विश्लेषक र विवेचकहरुले राष्ट्रिय एकता बलियो बनाउन पृथ्वीनारायण शाहका विचार अहिले पनि सान्दर्भिक छन् भनेर तर्क गर्ने गरेका छन् । वास्तवमा पृथ्वी विचारको सान्दर्भिकता अलिकति पनि घटेको देखिदैन ।
आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, राष्ट्रिय सुरक्षा, उद्योग, खानी, व्यापार लगायतका विभिन्न विषयमा पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा व्यक्त गरेका विचारहरुको प्रशंसा गर्दै विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरुले समेत त्यसको वस्तुपरक मूल्यांकन गरेको पाइन्छ । कतिपय विदेशी विद्वानले पृथ्वीविचारको विश्लेषण गर्दै पुस्तक समेत लेखेका छन् ।
विक्रम सम्वत् १७७९ पुस २७ गते गोरखाको राजदरबारमा राजा नरभूपाल शाहका जेठा छोराका रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ मा उनी पिताको मृत्यु हुनासाथ २० वर्षमा राजगद्दीमा बसे । तर उनले सुखसयलमा ध्यान दिएनन् । त्यसबेला दक्षिणमा अंग्रेजले एकपछि अर्को देश कब्जा गर्दै क्रिश्चियन धर्म फैल्याइरहेका थिए । धेरै देशमा साम्राज्यवाद र विस्तारवाद फैल्याइरहेका अंग्रेजहरु नेपालमा पसेभने यहाँका बाइसे चौविसे राज्यलाई सजिलै निल्न सक्छन् भन्ने कुरा बुझेका पृथ्वीनारायण शाहले परम्परागत धर्म, संस्कृति एवं यहाँका मूल्यमान्यता बचाउन र विदेशी शक्तिको प्रभाव रोक्न नेपालको पुनर्एकीकरण अभियान शुरु गरेको पाइन्छ । गोरखालाई बलियो बनाउँदै वरिपरिका राज्यहरुलाई समेत एकीकृत गर्ने अभियानमा उनी निरन्तर लागिरहे ।
वि.सं. २००९ सालमा इतिहासकार सूर्यविक्रम ज्ञवालीको सम्पादनमा दार्जिलिङबाट प्रकाशित भएको दिव्यउपदेश नै लिखित रुपमा जनमानसमा पुगेको पहिलो पुस्तक भएको कुरा प्रा. खगेन्द्रप्रसाद लुइँटेलले उल्लेख गरेका छन् । सो पुस्तकमा पृथ्वीनारायणले नुवाकोट दरबारमा आफ्ना भाइ भारदारहरुलाई राखेर दिएको सल्लाहलाई दिव्य–उपदेशका रुपमा इतिहासकारहरुले विश्लेषण गरेका छन् । सो दिव्य–उपदेशमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सयौं वर्षपछि पनि काम लाग्ने गरी नेपालको परिस्थितिको सुक्ष्म विश्लेषण गरेका छन् । उनले परराष्ट्र सम्वन्धी नीतिबारे दिएको उपदेशमा भनेका छन् –“चीन वादशाहसित ठूलो घाहा राषनु दषिनको समुन्द्रका वादशाहसित घाहा तथा राषनु तर त्यो महाचतुर छ । हिन्दुस्तान दबाइराषेछ. सरजिमीमा परिहेछ. हिन्दुस्तान जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्याछ. सन्धीसर्पन् हेरि गडि तुल्याइए राष्नु र रस्ता रस्तामा भाजा हारि राष्नु र यक दिन त्यो बल आउन्याछ. जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु ।”
यस्तै नेपालको आर्थिक अवस्था सुधार्न स्थानीय स्रोत साधन परिचालन गरेर स्वावलम्वी बाटोबाटै अघि बढ्ने सल्लाह दिँदै उनले भनेका छन् –“देसका महाजनलाई गोड प्रसाह देषी उभो आउन नदिनू । देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिआँ कंगाल गरि छाड्दछन् ।” नेपालमा बढेको विदेशी हस्तक्षेपसँगै आर्थिक क्षेत्रमा देखिएको कूटनीति हेर्दा अहिले पृथ्वीनारायणका वाणी झल्झली सम्झिनु पर्ने अवस्था आएको छ ।
राष्ट्रिय एकताको कुरा गर्दा पृथ्वीविचारको सान्दर्भिकता झन् प्रखर रुपमा देखिएको छ । नेपाली–नेपालीलाई विभिन्न राजनीतिक विचार, क्षेत्र, जात वा सम्प्रदायमा विभक्त गरेर विग्रह मच्चाउन खोजिदैछ । यस्तो अवस्थामा हाम्रो एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर भयो भने भोलि पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो स्थितिमा राष्ट्रिय एकता र अखण्डता पुनः बलियो बनाउन सक्ने स्थिति रहँदैन । त्यसकारण समय छँदै सम्पूर्ण नेपालीले राष्ट्रियताको भावधारामा एकीकृत हुनुपर्ने खाँचो देखिएको हो ।
हरेक वर्ष पुस २७ गते नेपालीहरुले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाउँदै आएकोमा २०६२÷०६३ पछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा उनी र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौललगायतले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाउने काम बन्द गरे । त्यस्तै सो दिवसमा दिइने गरेको सार्वजनिक विदा रद्द गरियो । सरकारी तवरबाट राष्ट्रिय एकता दिवस मनाउने काम बन्द गरेपनि २०५७ सालदेखि नै जनस्तरबाट सो दिवस मनाइँदै आएको कुरा जगजाहेर नै छ । पृथ्वीविचार अभियानमा आवद्ध रहेका साथीहरुको सहकार्यमा डिल्लीबजारस्थित भोजनगृहलाई केन्द्रविन्दु बनाएर पुस २७ गते त्यहाँ भेला भई बाजागाजासहित नगर परिक्रमा गर्दै सिंहदरवार अगाडि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिदै आएको छ । यस्तै विभिन्न जिल्लामा समेत कार्यक्रमहरु सञ्चालन गर्दै राष्ट्रिय एकताका पक्षधरहरुले पृथ्वीनारायणप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन् । केही वर्षयता विभिन्न स्कुल कलेजमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन भएको पाइन्छ । जुन खुशीको कुरा हो ।
पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको महाअभियान उनी दिवंगत भएपछि पनि रोकिएन । उनका कान्छा छोरा बहादुर शाहले त्यस अभियानलाई निरन्तरता दिइरहे । ७२ वर्षसम्म पनि अभियान जारी रह्यो । सुगौली सन्धिपछि एकीकरण अभियान रोकियो तर राष्ट्रिय एकताको महत्वमा कमी आएन । इतिहास साक्षी छ, विभिन्न कालखण्डमा विभिन्न शासकहरुले नेपाली–नेपालीबीचको एकता, अखण्डता र सद्भाव कायम राख्न महत्वपूर्ण योगदान गरेका छन् ।


पृथ्वीनारायण शाहले काठमाडौं, पाटन र भक्तपुरमा प्रभाव विस्तार गरेपछि यहाँका अन्तिम राजाका शालिकहरु समेत सुरक्षित राखेको पाइन्छ । ती शालिकहरुमा सुनको जलप लगाइदिएर उनले सम्मान जनाएका छन् । यस्तै काठमाडौं उपत्यकाको नेवारी संस्कृतिलाई शिरोपर गर्दै कुमारीबाट टीका तथा प्रसाद ग्रहण गरेर उनी काठमाडौंको राजगद्दीमा बसेको इतिहासकारहरुले उल्लेख गरेका छन् । परम्परागत धर्म, संस्कृति र मूल्य मान्यताप्रति अगाध आस्था भएका कारण पृथ्वीनारायण शाहले नेपालका विभिन्न जातिका परम्परागत धर्मसंस्कृति जोगाउन आग्रह गर्दै “आ–आप्mना कला धर्म नछाड्नु” भनेका छन् । यो भनेको राजाले मानेकै धर्म मान्नुपर्छ भन्ने होइन । तर हजारौं वर्षदेखि पुर्खाले जेजस्तो संस्कृति शिरोधार्य गरेका छन्, त्यसलाई नत्याग्नु भनेको हो । हिन्दु, वौद्ध, मुस्लिम, किराँती, थारु, मगर, गुरुङ, मैथिली, शेर्पालगायत सवै धर्म र जातजातिका आआफ्नै परम्परा भएकाले त्यसलाई जोगाएमा मात्र नेपालको राष्ट्रिय पहिचान सुरक्षित रहन्छ भन्ने उनको धारणा पाइन्छ । त्यसैले पृथ्वीनारायण शाहले नेपाललाई सबै जातको साझा फूलबारी रहेछ भनेका थिए । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहको राज्यविस्तार मात्र गर्ने नीति भएको भए काठमाडौं उपत्यका हात लागेपछि यो राष्ट्रको नाम विजेताको रुपमा गोर्खा राखिन्थ्यो । तर पृथ्वीनारायण शाहले गोर्खालाई नेपाल राष्ट्रमा विलय गराइदिएर नेपालको एकता, अखण्डता र सार्वभौमसत्तालाई बलियो बनाउने काम गरेको देखिन्छ ।
नेपालमा पछिल्ला वर्षहरुमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत समेत राष्ट्रिय एकतालाई कमजोर बनाउने खेल भइरहेका छन् । त्यस्ता कुरामा समयमै ध्यान नदिदा राष्ट्रिय एकता अरु कमजोर हुने सम्भावना रहन्छ । कैयन् मुलुकमा राष्ट्रिय मूलनीति प्रष्ट नहुँदा विदेशीहरुले दिएका सहयोग र हस्तक्षेप सँगसँगै प्रवेश गरेका उदाहरणहरु छन् । नेपालमा पनि त्यस्तो खतरा देखिएको छ । यस्तै राजनीतिक दलहरुमार्फत विदेशी शक्तिहरुले आआफ्ना एजेन्डा लादिएको देखिन्छ । त्यसले नेपाली–नेपालीबीचको एकतालाई कमजोर बनाउने कुरा पछिल्ला दिनका घटनाक्रमहरुले देखाइरहेका छन् । तसर्थ राष्ट्रिय मुलनीति बनाउँदा सबै नेतागण तथा राजनीतिक शक्तिहरुले राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रता सुदृढ पार्ने कुरा दृष्टिगत गरी अघि बढ्नुपर्ने खाँचो देखिएको छ । यस्तै स्वतन्त्र नागरिक तथा वुद्धिजीवीहरुले पनि पृथ्वीविचारका सान्दर्भिकता बुझेर अघि बढ्न सकेमा हजारौ वर्षदेखि सुरक्षित रहेको नेपालको सार्वभौमसत्ता, अखण्डता र एकता जीवन्त रहन सक्छ । हरेक वर्ष पुस २७ गते राज्यले राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाउँदै नयाँ पुस्तालाई समेत राष्ट्रिय एकताको अर्थ र महत्व बुझाउन सकियो भने भावी दिनहरुमा समेत राष्ट्रिय एकताको सुत्रमा सबै एकत्रित हुने परिस्थिति सिर्जना हुन सक्छ । त्यसका लागि पुस २७ गतेलाई सार्वजनिक विदा घोषणा गर्दै राष्ट्र निर्माता पृथ्वीनारायणप्रति सम्मान जनाउनु सरकारको कर्तव्य पनि हो ।