शेख हसिनाले आज शपथ लिँदै
ढाका- बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छिन । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लागेकी हुन ।
उनि लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लागेकी हुन । आज मन्त्रीहरुको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ । ती मन्त्रीहरुमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरु हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई सपथ दिलाउने जनाइएको छ । राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन ।
प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आवद्ध पार्टीहरु सहित २८८ सिटमा विजय हुन सफल भएका थिए । हाल बङ्गलादेशको संसदमा २९९ सिट रहेको छ । हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो । बङ्गलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।