एउटै व्यक्तिको ३ वटा नागरिकता,सिरियल नम्बर दुरुस्तै
काठमाडौं – कैलालीको धनगढीका वासुदेव मैनालीलाई विभिन्न नाममा तीनवटा नागरिकता लिएर ठगी गर्दै हिँडेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले नारायणटार अर्याल गाउँबाट पक्राउ गरेको हो ।
परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार खुद्रा पसलमा गएर ठूलो व्यापारी भएको बताउँदै सामान उठाएर ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।त्यसक्रममा उनको ३ वटा नागरिकता रहेको भेटिएको छ ।
एउटा आफ्नै नामबाट नागरिकता बनाएका छन् भने अरु दुई वटा शिवराम पौडल र रामचन्द्र शर्माको नामबाट लिएका छन्,नागरिकतामा सिरियल नम्बरसहित अन्य विवरणहरु पनि दुरुस्तै छ ।
प्रहरीले ती नागरिक नक्कली वा सक्कली के हो भन्ने छुट्टयाउन सकेको छैन । ‘उनले ती नागरिकता कसरी बनाए भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, डीएसपी बोगटीले भने ।
उनका अनुसार मैनालीले पसलहरुमा सामान लिएर गई विभिन्न स्थानबाट फरकफरक नाममा गरी ४० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको नारायणटारस्थित गोदाममा फ्रिज, टेलिभिजन, जेनेरेटर, विदेशी ब्रान्डका मदिरासहित गरी करिब १५ लाखको बराबरको सामान पनि भेटिएको प्रहरीले जनाएको छ ।उनीमाथि प्रहरीले कीर्ते र ठगी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।