काठमाडौं आउनुअघि जापानी विदेशमन्त्री भारतीय प्रधानन्त्री र विदेश मन्त्री सङ्ग भेट
भेटवार्तामा मोदी र कोनोले इन्डो प्यासेफिक क्षेत्रको समृद्धि र स्थायीत्वका लागि यो साझेदारीमा जोड दिएको बताइएको छ।
जापानी विदेशमन्त्री कोनो दुई दिने भ्रमणका क्रममा बुधबार नेपाल आउँदैछन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमण गरेको एक महिनापछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपालको एउटा प्रमुख पूर्वाधार विकास साझेदार जापानका विदशेमन्त्रीको यो भ्रमण प्रधानमन्त्री स्तरको भ्रमणको तयारीका रुपमा हेरिएको छ।
दिल्लीमा कोनो र स्वराजबीच स्वतन्त्र तथा खुला इन्डो प्यासेफिक क्षेत्रको सुरक्षाबारे दुबै देशका रक्षामन्त्रीबीच चाँडै वार्ता गर्ने सहमति भएको जापानी सञ्चार माध्यमले जनाएका छन्।
अघिल्लो महिना वासिङ्टनमा अमेरिकी विदेशमन्त्री र परराष्ट्रमन्त्री ज्ञवालीबीच इण्डो प्यासेफिक रणनीतिमा नेपालको भूमिकाबारे छलफल भएको थियो।
अमेरिकाले नेतृत्व गरेको इण्डो प्यासेफिक रणनीतिका जापान, भारत र अष्ट्रेलिया मुख्य साझेदार रहँदै आएकाले कोनोको भ्रमणको क्रममा काठमाडौंमा यस विषयमा पनि छलफल हुने ठानिएको छ।
दुई विदेशमन्त्री एशिया प्रशान्त क्षेत्रका १६ देशबीच स्वतन्त्र व्यापारको खाका ‘बृहत क्षेत्रीय आर्थिक सहकार्य’ लाई चाँडै निष्कर्षमा पुर्याउन पनि सहमत भएका छन्।
दिल्लीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विदेशमन्त्री कोनोले स्वतन्त्र तथा खुला इन्डो प्यासेफिक यस क्षेत्रको आर्थिक विकासका लागि महत्वपूर्ण हुने निष्कर्ष निकालेको बताए।
सोमबार कोनोले भारतीय विदेशमन्त्री स्वराजसँग १० औं चरणको भारत–जापान विदेश मन्त्रीस्तरीय राजनीतिक वार्ता गरेका हुन्। नवौं चरणको वार्ता नौ महिनाअघि टोकियोमा भएको थियो।
दुवै विदेशमन्त्रीहरुले क्षेत्रीय कनेक्टिभिटी, आर्थिक साझेदारी, नयाँ तथा डिजिटल प्रविधि, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, प्रतिरक्षा सहकार्य र समुद्री सुरक्षाको विषयमा छलफल गरेका छन्। कोनो र स्वराजबीच साइबर सुरक्षा र अन्तरीक्ष कार्यक्रमबारे समेत सहमति भएको बताइएको छ।
नयाँ दिल्लीमा मंगलबारबाट आयोजना हुने राइसेना डाइलगमा जापानी विदेशमन्त्री कोनो सहभागी हुने कार्यक्रम रहेको छ।
नेपाल भ्रमणपछि जापानी विदेशमन्त्री कोनो फ्रान्स जाने कार्यक्रम रहेको छ।