नेविसंघका पदाधिकारीहरूले सामूहिक राजीनामा पछि नेविसंघकै नेताहरूमा विवाद
काठमाडौं- प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवादले गर्दा अहिलेको कार्यसमिति विघठनको संघारम पुगेको छ ।
दोस्रो पटक थपेको म्याद माघ २ गते सक्किँदै छ । समयसीमाभित्र नेविसंघका अध्यक्ष नैनसिंह महरले काम गर्न नसकेको भन्दै आधा दर्जन बढी पदाधिकारीहरूले शुक्रबार सामूहिक राजीनामा दिएपछि विवाद छताछुल्ला भएको हो ।
राजीनामा दिने पदाधिकारीहरूले अध्यक्ष महरलाई असक्षम भएको आरोप लगाएका छन् । राजीनामा दिने पदाधिकारीहरू सबै महर समूहकै हुन् ।
आफ्नै समूहका पदाधिकारीहरूले अध्यक्ष महरलाई काम गर्न नसकेको र असक्षम भनेपछि नेविसंघभित्र के हुँदै छ भन्ने प्रस्ट भएको विद्यार्थी नेताहरूले बताएका छन् ।
सामूहिक राजीनामा दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरू खुसी भएका छन।
दोस्रो पटक थपिएको म्यादसमेत सकिन लाग्दा नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने कि फेरि म्याद थपेर महाधिवेशन गर्न निर्देशन दिने विषयमा नेविसंघकै नेताहरूमा विवाद छ ।
नेविसंघको बहुमत पदाधिकारी र सदस्यहरूले अहिलेका अध्यक्ष नैनसिंह महरलाई हटाएर नयाँ तदर्थ समिति बनाएर जानुपर्ने पक्षमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने महरलाई तत्काल हटाउने पक्षमा देउवा छैनन् ।
१२औं महाधिवेशन सम्पन्न गर्नभन्दै कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिलाई मंसिर २ गते दुई महिनाको समय थप गरेर माघ २ गतेसम्मको समय दिएको थियो ।
नेविसंघका अध्यक्ष महरले कांग्रेसको महासमिति बैठक, जाडो बिदालगायतका कारण तोकिएको समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न नसकिएको दाबी गर्दै आफ्नो बचाउ गर्ने गरेका छन् । महरले कांग्रेस नेतृत्वसँग केही समय थपर आफैले महाधिवेशन गराउने बताउने गरेको एक नेताले बताए ।
महरले नेविसंघले साढे ६ लाख सदस्यता वितरण गरेको दाबी गर्दै आएका छन् । महरको दाबीलाई उनकै संगठनका विद्यार्थी नेताहरूले पत्याएका छैनन् । ७७ जिल्लामध्ये महरले जम्मा १६ जिल्लामा मात्रै अधिवेशन गराउन सकेका छन् । अधिकांश जिल्लामा विवाद छ ।
महामन्त्री कुन्दनराज काफ्लेले हालसम्म ७० प्रतिशत स्कुल तथा क्याम्पसहरूको अधिवेशन सकिएको बताए । उनले माघ २ गतेसम्म २२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न हुने बताएका छन् ।
नेविसंघ निर्देशन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघको बारेमा के गर्ने भन्नेबारे पार्टीले एक–दुई दिनभित्रै निर्णय लिने बताएका छन् ।
पहिलोपटक म्याद थप्दा नेविसंघले १६ कात्तिकदेखि १८ कात्तिकसम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । दोस्रोपटक म्याद थप भएपछि समेत २८ देखि ३० पुससम्म महाधिवेशन गर्ने नेविसंघले निर्णय लिएको थियो ।