डा. गोविन्द केसीको माग बिपरित संसदमा पेश हुँदै चिकित्सा शिक्षा विधेयक
काठमाडौ- इलाममा अनशनरत डा. गोविन्द केसीको असहमतिका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आइतबार संसदमा पेश हुने भएको छ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत बुधबार बहुमतले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुने भएको हो।
संसद् सचिवालयका अनुसार मध्याह्न १२ बजे बस्ने बैठकमा उक्त विधेयक पेश गर्ने कार्यसूची छ।
सरकारले आफूसँग गरेको सहमतिविपरीत जनमुखि बुँदा हटाई माफियामुखि बनाएर विधेयक तयार पारेको भन्दै डा. केसी गत बुधबारदेखि १६औं सत्याग्रहमा छन्।
डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ। उनको शरीरमा ग्लुकोजको मात्रा घटेकाले उनलाई शौचालय जान पनि समस्या हुन थालेको उपचारमा संलग्न चिकत्सकले बताएका छन्।
नेपाल चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्न माग गरेको छ।