प्रधानमन्त्रीज्यु नेपाली जनता नयाँ दरबार बनाउन चाहँदैनन्: डा.रिजाल

काठमाडौ- प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले  मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाएका छन्।

केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दाबी गरेका हुन्।

उनले भने, ‘काठमाडाैं खाल्डोबाट देखिएन होला त्यसैले झापामा भ्यु टावर बनाउने भन्नुभएको छ। माफ गर्नुहोस् प्रधानामन्त्रीज्यू, खाबो बांगो छ, तपाईंले देखे जस्तो देशको स्थिति छैन। झापाको भ्यु टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ। क्षमा गर्नुहोस् प्रधानमन्त्रीज्यु।’

मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधनका क्रममा दिईएका तथ्यांक पुरै गलत भएको भन्दै उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रालयद्वारा गलत जानकारी दिईएको बताए। प्रधानमन्त्रीले भने जस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सुचांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उनले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नयाँ दरबार श्रृजना गर्न खोजेको आरोप पनि लगाए। उनले भने, ‘सरकारको निर्णयबाट १८ करोडको गाडीमा डेढ अर्बको हेलिकोप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन नयाँ दरबार झन् बढी भोग र विलासको बिम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन।

गणतन्त्र बलियो हुँदैन। जनताको आर्थिक अवस्था जस्तो छ ,त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ। नेपाली जनता नयाँ दरबार बनाउन चाहँदैनन्।’

उनले प्रधानमन्त्रीले भने भन्दा विपरित संबैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम सरकारबाट भईरहेको आरोप लगाए। उनले भने, ‘बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर ,पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मान मर्दन गरेर, संबैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन।

आयोगहरुलाई क्रियाशिल नतुल्याउने अनि संघीयता अझ बलियो बनाएको छु, भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन संस्था बलियो बनाउनुपर्छ।’

प्रतिनिधिसभा बैठककाे सुन्य समयमा सांसद सिता देवी यादव र ज्ञानेन्द्र बहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अबिलम्ब माग पुरा गर्न सरकारसँग माग गरेका थिए। सांसद कार्कीले डाक्टर केसीको माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने भन्दै अबिलम्ब माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।