धार्मिक क्षेत्र रिडीमा श्रद्धालुहरुको घुइँचो
गुल्मी – पाँच दिनसम्म संचालन हुने माघे संक्रान्ति मेलामा गएका वर्षहरुमा जस्तै यस पटक पनि धार्मिक क्षेत्र रिडीमा पहिलो दिन बिहानै देखि कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुहरुको घुइँचो बढेको छ ।गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तिको दिन स्नान र पूजाआजा गर्नका लागि बर्सेनि श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ ।
कालीगण्डकी नदीमा स्नान गरे र ऋषिकेश मन्दिरमा पूजाआजा गर्नका लागि माघे संक्रान्तिको दिन गुल्मी लगायत छिमेकी जिल्लाहरु पाल्पा, स्याङ्जा, अर्घाखाँची, वाग्लुङ्ग, रुपन्देही लगायतका ठाउँहरुबाट श्रद्धालुहरु आउने प्रचलन छ ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ । मकर सङ्क्रान्तिको अवसर पारेर संचालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, तथा बाँसका चोयाबाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायतको राम्रो व्यापार हुने गर्दछ ।
स्थानीय रुरु गाउँपालीकाको आयोजनामा रुरु फ्रेण्ड्स युवा क्लव तथा रिडी उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित माघे संक्रान्ति मेलामा घरेलु उत्पादीत सामग्री लगायत कृषि उपज वस्तुहरुको समेत प्रदंशनी गरिने भएको छ । मेलालाई आकर्षित गर्नका लागि रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा क्लवले विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।