रिडीको तीनमुखे पुल अलपत्र
गुल्मी । सर्वे नहुँदै नेताहरुलाई शिलान्यासको चटारो हुनु नै नेपालकै नमुना भनिएको गुल्मीको तिनमुखे पुल अलपत्र पर्नुको मुख्य कारण भएको खुलेको छ ।
४ वर्ष पहिले नेपालकै नमूना तिनमुखे पुल बन्ने भएपछि स्थानिय हर्षित बनेका थिए । नेपाल सरकारका तत्कालीन मुख्य सचिव लिलामणी पौडेल र गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले २०७१ मंसिर १५ गते संयुक्त रुपमा शिलान्यास गरेका थिए । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष युवराज भुसालले तिनमुखे पुल कालिगण्डकी कोरिडोर संग पनि जोडिएकोले गुल्मी, स्याङ्गजा र पाल्पामा अलग अलग बजारिकरण गर्ने उद्देश्यका साथ आफुले एक ईञ्जिनियरलाई त्यस पुलको डिजाईन गर्न लगाएको तर आफुलाई समेत सुईंको नदिई सर्वे नगर्दै शिलान्यासको चटारोमा लाग्दा ढिलाई हुन पुगेको बताए ।
निर्माण कार्यसुस्त गतिमा चल्दा रिडीमा बन्न लागेको तिनमुखे पुल निर्माण गर्ने अबधी पुरा हुँदासम्म पुलको निर्माण आकार समेत आउन सकेको छैन । रुविना मना जे.भी कम्पनीले निर्माण गर्ने गरि २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएपनि कामको कुनै प्रगति आउन सकेको छैन ।
कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तिन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्ने जिम्मा पाएपनि कामको कुनै प्रगति छैन । नेपाल सरकारको स्थानिय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलको प्रत्येक तिनवटा लुठ्ठाहरुको लम्बाई १ सय ८० हुने ब्यवस्था रहेको छ ।
पुलको मुख्य पिलर मात्रै १७ मिटर तल गहिराइबाट निर्माण हुने गरि नक्सा तयार गरिएको हो । रिडीमा पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सकिने ब्यवस्थाको पुल निर्माण हुने नक्सामा उल्लेख छ ।
तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी र स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समय देखि निर्माण कार्य नहुँदा सम्पन्न हुसकेको छैन । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने, पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट जोड्ने पुल नेपालकै नमुना झोलुङ्गृ्ेपुल निर्माण कम्पनीको ढिलाई हुँदा निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा उल्लेख्य काम हुन सकेको छैन ।
हाल निर्माणकार्य सम्पन्न हुने समयमा पुलको पिलर मात्रै निर्माण भएको छ । अहिले हाल सम्म १० प्रतिशत पनि पुरा हुन नसकेको स्थानिय बताउँछन् । पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोर संगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने कल्पना गरेका थिए । आउने एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरि काम भइरहेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिका प्रमुख महेन्द्र अधिकारीले बताए । काम गर्दै जाँदा ढिलाई भएको र अब आउने २०७६ साल मंसिर सम्ममा काम सम्पन्न हुने दाबी गरे । पुलको मुख्य पिलरको काम भइरहेको बताए । अरु फलामहरु लगायतका सामाग्रीहरु बनाउने कार्य चलेको बताए । नयाँ काम भएकाले पनि ठेकेदारले काममा ढिलाई गरेको रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले बताए ।
निर्माण कम्पनिले काम गर्ने अनि बिचमा रोकिने गर्नाले काममा ढिलाई हुँदै आएको छ अध्यक्ष गौतमले भने,‘हाल फेरि कामको सुरुवात भएको छ यसले फेरि आशा जगाएको छ ।’ काम सुस्त गतिमा भएको छ अध्यक्ष गौतमले भने ‘खबरदारी गरिरहेका छौ काम पुरा गर्न दवाब दिनुपर्ने भयो ।’
पुलको उल्लेख्य काम नभएपनि हाल सम्म २ करोड वढिको काम भएको पुल शिलान्यासकर्ता पूर्व सांसद चन्द्र भण्डारीले बताए । उनले तत्कालीन समयमा शिलान्यासकर्ता पूर्व मुख्य सचिव पौडेल र आफुले हालै केहि दिन पहिले अबस्था अबलोकन गरेको बताए । अबलोकन पछि कामलाई तिब्र गतिमा लैजानको लागि आबश्यक तह तप्कासँग छलफल गरेर अगाडी वढाईने बताए ।
नेपालकै नमूना पुल भएकाले गुल्मीको भाग्यरेखा यसले कोर्ने काम गर्ने छ । यसलाई अलपत्र हुन नदिने पूर्व सांसद भण्डारीले बताए । पुल नहुँदा त्यस क्षेत्रका स्थानियहरु बिभिन्न समयमा रिडीमा लाग्ने ठूलो मेलामा वारी पारी गर्न जोखेम मोलेर खोला वारी पारी गर्ने गर्दछन् । रिडीमा बन्ने पुलले जिल्लाको धार्मिक विषयबस्तुहरुको समेत प्रचार प्रसार हुने स्थानियको आशा रहेको छ । तर कामले गति नलिदा अहिले भने आशालाई निरासामा पैदा गर्ने काम निर्माण पक्षबाट भइरहेको स्थानिय चिरन्जीबी ज्ञवालीले गुनासो गरे । पुल बने सँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानियहरु सहजताका साथ एकै ठाउँमा जोडिने छन् । पुलका तिनवटै मुख मोटरबाटाको नजिकै रहने नक्सामा उल्लेख भए पनि नक्सामै सिमित हुने हो कि भन्ने चिन्ता स्थानियले गर्न थालेका छन् ।