सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन् । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा बोल्दै देउवाले शिक्षा विधेयक, कर्मचारी समायोजनलगायतमा सरकारले हस्तक्षेप गर्दै आफ्नो कन्ट्रोलमा राख्न खोजेको आरोप लगाउँदै सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा कांग्रेस रहेको भन्दै देउवाले सरकारको हस्तक्षेप नसहने र जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन् ।
ओली सरकारलाई कांग्रेस नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गर्दै गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको आरोप लगाएका छन् । प्रजातन्त्रका लागि लडेका नेताको नाम मेटाउने ओलीले भोलि प्रजातन्त्र समेत हटाउन सक्छन् भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन् ।
त्यस्तै अर्का नेता रामचन्द्र पौडेलले पनि वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको भन्दै कांग्रेस अब चुप लागेर नबस्ने बताएका छन् । ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै पौडेलले स्थिरता र शान्ति हुँदाहुँदै पनि ओली सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।