आज अपरान्ह ४ बजे पूर्वराजा सिमरा प्रस्थान गर्दै

काठमाडौ- सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह ४ बजे सिमरा प्रस्थान गर्दैछन्।

सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहने गरेका उनी यसपटक पनि त्यहीँ रहनेछन्।आज अपरान्ह ४ बजे हवाई मार्गबाट सिमरा प्रस्थान गर्ने उनी त्यहाँ कति समय रहने भन्ने तय भएको छैन।

केही दिन सिमरामै रहेर उनी त्यतैबाट पूर्वी तराईको झापाको दमकस्थित आफ्नो चियाबगानमा जानेछन्। झापा जाने कार्यक्रम छ, तर कहिले जाने भन्ने तय छैन’ निर्मल निवास स्रोतले भन्यो, ‘उहाँ सिमराबाट स्थलमार्ग हुँदै झापा जानु हुनेछ।’

२ पुषमा हवाई मार्गबाट पोखरा पुगेका पूर्वराजा शाह काठमाडौँ फर्कंदा चाहिँ स्थलमार्ग प्रयोग गरेका थिए।निकटस्थहरुसँगको कुराकानीमा पूर्वराजा शाहले आफूलाई हवाई मार्ग भन्दा स्थलमार्ग रमाइलो लाग्ने बताउने गरेका छन्।

पुष दोस्रो साता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानीमा पनि उनले आफूलाई हवाई भन्दा स्थलमार्ग मन पर्ने बताएका थिए।खाने आराम गर्ने र सौचालयको व्यवस्था भए काठमाडौँ-पोखराका लागि स्थलमार्ग नै राम्रो छ’ श्रेष्ठसँग उनले भनेका थिए।

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछि सहज सत्ता हस्तान्तरण गरेका पूर्वराजा शाहले स्थलमार्गमा सर्वसाधारणको न्यानो स्वागत पाउने गरेका छन्।१९ जेठ ०५८ मा दरवार हत्याकाण्ड भएका बेला पोखरामा रहेका उनी झापाबाट स्थलमार्ग हुँदै पोखरा पुगेका थिए।

झापामा केही दिन बिताएर चितवन हुँदै उनी पोखरा प्रस्थान गरेका थिए। त्यसको एकाध दिनमै दरवार हत्याकाण्ड हुन पुगेको थियो।पूर्वराजा गत सालपनि दमकस्थित हिमालयन टि गार्डेनमा लामो समय रहेर राजनीतिक भेटघाट गरेका थिए।

ती भेटघाटमध्ये राप्रपाका तीनै घटकहरुका दोस्रो तहका नेताहरुसँगको भेटघाट निकै चर्चित भएको थियो।आफूसँग भेटका लागि काठमाडौँबाटै झापा पुगेका तीनै घटकका नेताहरुलाई उनले एकताका लागि सुझाव दिएका थिए।त्यसपछि राप्रपाका घटकहरु बीच एकता प्रक्रिया सुरु भएपनि त्यसले अहिलेसम्म मूर्तरुप लिन सकेको छैन।