उपत्यकाका विभिन्न क्याम्पस अगाडि नेविसङ्घको विरोध

काठमाडौँ -वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा आइतबार बिहान काठमाण्डौको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्को नारा लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । त्यस क्रममा उनीहरुले गोविन्द केसीको माग सम्बोधन गर्न तथा निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोजना गरेका थिए ।

नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा. गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताए। काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति दिइएको छैन, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ।

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताए । आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ । यसैबीच नेविसङ्घ, तरुण दल, महिला सङ्घले आज चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जनाएका छन् ।