गल्ती सच्याएर सरकार अघि बढोस्-प्रवक्ता शर्मा
काठमाडौँ- काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय कार्य समितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिक समेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता विश्वप्रकाश शर्माले वाइडबडी जहाज खरीदमा भएको अर्बाैैंको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न पार्टीले सदन र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे । विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने उनको भनाइ थियो ।
त्यस्तै बूढी गण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि के रहस्य लुकेको छ भनी प्रश्न गर्दै उनले आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा ढिलासुस्तीको विषय विरोध प्रदर्शनमा उठाइने जानकारी दिए ।
प्रवक्ता शर्माले ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्तिअनुरूप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भनी प्रश्न गर्दै, प्रदेश नं ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरीद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने जानकारी दिए।
काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउँदै तिनलाई उद्धार गरी सकुशल स्वदेश फर्काउन तत्कालै पहल गर्न र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।