अधिकांश घटना मदिरा सेवनको कारणले

रुकुम -जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका-१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन् । श्रीमती र छोराको हत्या गरी बुढाले खुकुरीले घाँटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमती र छोराको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै जिल्लाको आठबीसकोट नगरपालिका-१२ ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षीय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे । चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । राति सँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमिति खड्काले जानकारी दिए ।

गत मङ्सिर २५ गते राति जिल्लाको बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो । अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाले आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि कुटपिट गरी टाउको नै फुटाइदिए । कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा तीन टाँका लगाइएको थियो । कुटपिटबाट अध्यक्ष केसी एक महीनासम्म थलिएका थिए ।

जिल्लाको मुसीकोट नगरपालिका-१२ मा गत पुस १ गते तीन जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानीभेरी गाउँपालिका-९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसीकोट नगरपालिका-११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसीकोट नगरपालिका-१२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युका प्रमुख कारण मदिरा सेवन रहेको प्रहरीको भनाइ छ ।

उनीहरूले रक्सी सेवन गरेको र शव परीक्षणको रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बता । जिल्ला अस्पतालमा भएको शव परीक्षणको रिपोर्टमा पनि उनीहरूको मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको थियो । थप परीक्षणका लागि भित्री अङ्ग प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

त्यस्तै गत सातामात्र जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका-४ चाँपामा अर्का एक व्यक्तिको शव फेला प¥यो । उनको पनि सम्भवतः मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको र शव परीक्षण गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाइ छ । असी प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको उपरीक्षक खड्काले जानकारी दिए । हामीले यो वर्ष भएका घटनाका कारण केलाएर हेरेका छौँ”, जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो ।बलात्कार, हत्यालगायतका घटना त शतप्रतिशत मदिराकै कारण भइरहेको खड्काले बताए ।