वादोरियो कराँते टोली भारत प्रस्थान

काठमाडौँ- तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडी सहितको नौ सदस्यीय नेपाली वादोरियो कराँते टोली आजै भारतको विशाखापट्टनम प्रस्थान गर्ने भएको छ ।

भारत जाने खेलाडीमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आआफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् ।

टोली नेतामा नेपाल वादोरियो कराँते डो सङ्घका अध्यक्ष एवं नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अङ्कध्वज परियार रहेका छन् ।

प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुनेछ । टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए  ।