काँग्रेस सांसदहरुद्वारा संसदीय सुनुवाई समितिको बैठक बहिस्कार
काठमाडौं- काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । काँग्रेस सांसदहरुले संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन्।
समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् । उनीहरुले बैठक अगावै समितिमा असहमति पत्र दर्ता गरेर बहिस्कार गरेको घोषणा गरेका हुन् ।
उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।
माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।काँग्रेस सांसदहरुको बहिस्कारका बीच बसेको बैठकले उजुरीका लागि १० दिनको समय दिएको छ ।