गुल्मीमा जीप दुर्घटना: दुईको मृत्यु, दुई घाइते

गुल्मी- ग १ च ८३५७ नं को जीप मुसिकोट नगरपालिका-८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको छ  । जीप दुर्घटना विहान करिव १० बजेको समयमा भएको प्रहरी चौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो ।

दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका-८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । गाडी वामी मैदानबाट वामीटक्सार जाने क्रममा मैदानस्थित चौपारी निरबाट तल खसेको हो । गाडी चालकले नभइ गाडी मालिकले चलाएका थिए ।

दुर्घटनामा मुसिकोट-८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएका प्रहरीचौकी वामीका प्रमुख चौधरीले जानकारी दिए । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ ।