भेनेजुएलाका पक्षमा किन लागे प्रचण्ड ?

विज्ञप्तिको ड्राफ्ट माधवको कार्यकक्षमा/नेकपामा खैलाबैला/प्रचण्ड परिवारको अमेरिका भ्रमण प्रभावित

काठमाडौं । नेपालसँग खासै औपचारिक साइनो नभएको र नेपालमा दूतावास समेत नभएका भेनेजुएलाको राजनीतिक संकटबारे विज्ञप्ति निकाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किन विज्ञप्ति जरी गरे भन्ने कौतुहलता अहिले नेकपामा मात्र होइन, कूटनीतिक वृत्तमा समेत चर्चाको विषय बनेको छ ।
भेनेजुएलाले दिल्लीस्थित दूतावासबाटै नेपाल हेर्ने गरेको छ भने तर अमेरिकाले नेपालमा दूतावास मात्र होइन, अमेरिकी सहयोग नियोग (युएसड), कार्टर सेन्टरलगायत थुप्रै निकाय सक्रिय छन् । जसले गर्दा अमेरिकालाई चिढ्याउने गरी प्रचण्डले विज्ञप्ति निकाल्नुलाई नेकपाका केही नेताले रहस्यमय मानेका छन् । प्रचण्डको विज्ञप्तिलाई अमेरिकासँगको कूटनीतिक सम्बन्ध खलबल्याउने प्रयासको रुपमा समेत केही कूटनीतिज्ञहरु लिएका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति नै निकालेर अमेरिकाले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेका थिए ।
सरकारको नेतृत्व गरिरहेको पार्टीका अध्यक्षको धारणा नै सरकारको पनि धारणा हुने अमेरिकी बुझाइ छ । अमेरिकाले त्यहाँस्थित नेपाली राजदूत अर्जुन कार्कीसँग नेपाल सरकारको धारणा के हो भनेर स्पष्टीकरण लिएको बुझिएको छ । सरकारले झन्डै झन्डै प्रचण्डसँग नै मिल्दोजुल्दो धारणा सार्वजनिक गरेपछि यसले नेपाल अमेरिका कूटनीतिक सम्बन्धमा चिसो आउने संकेत देखिएको छ ।
परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत उपस्थिन नहुनुको संकेत यही हुन सक्ने कूटनीतिज्ञहरु बताउँछन् । पूराना कूटनीतिज्ञ भन्छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागी ब्रिफिङमा अमेरिकी राजदूत ¥यान्डी बेरी नआई उपप्रमुख माइक गोन्जालोजलाई पठाएका थिएर । राजदूत काठमाडौंमै हुँदा त्यसरी सरकारको सर्वोच्च ब्रिफिङमा सहभागी नहुनुलाई सरकारसँग सम्बन्ध चिसिएको प्रमाणका रूपमा हेर्नुपर्ने हुन्छ ।’
सत्र वर्षपछि नेपालका परराष्ट्रमन्त्री अमेरिका भ्रमण गरी दुई पक्षीय हितका महत्वपूर्ण मामिलाहरूमा सम्झौता भएको थियो । तर त्यसको व्यावहारिक फल प्राप्त नहुँदै भेनेजुएला काण्डले अमेरिकासँगको सम्बन्धमा पानी खन्याइदिएको एक कूटनीतिज्ञ बताउँछन् ।
शुक्रबार भएको कूटनीतिक ब्रिफिङमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको कूटनीति सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नराखी चल्ने बताएका थिएर । मन्ज्ञी ज्ञवालीले चैतमा हुन लागेको लगानी सम्मेलनमा दस वर्षपछि मध्यम आयको राष्ट्र बन्ने नेपालको सपना साकार पार्ने गरी लगानी भित्र्याउन आर्थिक कूटनीति अवलम्बन गर्न लागेको पनि बताएका थिए ।
सरकारले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी दाहालको वक्तव्य भन्दा केही नरम तर मिल्दोजुल्दो धारणा सार्वजनिक गरेपछि अमेरिका नेपालसँग क्रुद्ध बनेको छ । दूतावास स्रोत भन्छन् –“प्रस्टीकरणको जवाफका रूपमा आएको सरकारको वक्तव्यले केही पनि प्रस्ट भएको बरु मामिला झनै बोझिलो भएको पाइएको छ ।’
उता भेनेजुएलामा अहिले विपक्षी नेता हुँवा गुइएदोको नेतृत्वमा राष्ट्रपति मदुरोका विरुद्ध देशव्यापी प्रदर्शन भैरहेका छन् । विपक्षीहरुले त्यहाँ गुइएदोलाई सडकबाटै राष्ट्रपति समेत घोषणा गरेका छन् । त्यहाँको राजनीतिक संकटका विषयमा विश्वनै धुर्वीकृत हुँदै गएको छ । राष्ट्रपति मदुरोलाई चीन, रुस लगायतका राष्ट्रहरुले समर्थन गरेका छन् भने विपक्षी नेत गुइएदोलाई अमेरिका र केही युरोपियन मुलुकहरुले समर्थन गरेका छन् ।
भेनेजुएलामा गत साता विपक्षी दलका नेता हुवाँ गुआइडोले राष्ट्रिय सभाको बैठक डाकी संविधान हातमा लिएर आफू चुनाव गराउने अन्तरिम सरकारको राष्ट्रप्रमुख बनेको घोषणा गरेका थिएर । त्यसलाई अमेरिकाले समर्थन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति मार्फत भनेका थिए –
“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भेनेजुएलाका जनता, भेनेजुएलाको राज्यको सम्प्रभुता र लोकतान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई पूर्ण रूपले साथ र समर्थन गर्दछ । नेकपा संयुक्त राज्य अमेरिका र उसका सहयोगी मुलुकहरुले भेनेजुएलाको आन्तरिक मामिलामा दखल अन्दाजी गरेर त्यहाँको लोकतन्त्र, आन्तरिक शान्ति, सुव्यवस्था र सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेपको घोर भत्र्सना गर्दछ ।
हुवाँ गुवाईदोद्वारा आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गर्नु र त्यसलाई अमेरिकालगायत अरु क्षेत्रीय राष्ट्रहरुले तत्काल त्यसको समर्थन गर्नुले बोलिभारियन गणतन्त्र भेनेजुएला र त्यहाँका जनताविरुद्ध ठूलो षड्यन्त्र भइरहेको बुझिन्छ ।
यस्तो प्रकृतिको अरुको आन्तरिक मामिलामा भएको ठाडो हस्तक्षेप र साम्राज्यवादी सत्ता विद्रोह कुनै पनि सर्तमा स्विकार्य हुँदैन । अमेरिकाले विगत एक दशकदेखि भेनेजुएलाविरुद्ध अमानवीय ढंगले आर्थिक नाकाबन्दी लगाइरहेको छ । यो संयुक्त राष्ट्रसंघको चार्टर एवं शान्तिपूर्ण सहअस्तित्वको आधारभूत सिद्धान्तको ठाडो उल्लंघन हो । तसर्थ, हामी अमेरिकालगायत अन्य मुलुकहरुलाई अहस्तक्षेपकारी सिद्धान्त, राष्ट्रिय स्वाधीनता एवं शान्तिपूर्ण सहअस्तित्वको मर्मलाई सम्मान गर्न अपिल गर्दछौं ।
नेकपा भेनेजुएलामाथि अतिक्रमण गर्न उद्यत साम्राज्यवादी शक्तिहरुको कुनै पनि प्रकारको कदमको तीव्र विरोध गर्दछ एवं अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र सम्पूर्ण सार्वभौम मुलुकहरुसँग भेनेजुएलाको आफ्नो सार्वभौमिकता, राष्ट्रिय सम्प्रभुता, भेनेजुएलाका जनताको आफ्नो सार्वभौम अधिकारका खातिर ऐक्यबद्धता जनाउन अपिल पनि गर्दछ ।”
सरकारको नेतृत्व गरेको पार्टी अध्यक्षले सार्वजनिक गरेको विषय पनि सरकारी धारणासरह नै हुन्छ । त्यसलाई सरकारी धारणा मान्ने हो भने नेपालले अवलम्बन गरेको पञ्चशील परराष्ट्र नीति अनुकूल हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ ।
प्रचण्डको निकालेको विज्ञप्तिको ड्राफ्ट वरिष्ठ नेता माधवकुमार नेपालको कार्यकक्षमा तत्कालीन एमाले विदेश विभाग सचिव यादव शर्मा र बलराम बाँस्कोटाले तयार गरेको बुझिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको यो मस्यौदा सही गर्नका लागि बाँस्कोटा प्रचण्ड निवास पुगेको समाचार सार्वजनिक भएपछि नेकपामा प्रचण्डसँगै वरिष्ठ नेता नेपाल समेत विवादमा तानिएका छन् ।
भेनेजुएलाका पक्षमा किन लागे प्रचण्ड ?
केही समयदेखि एसियाव्यापी एकाइ स्थापना गर्दै आएको भेनेजुएलाले नेपालमा पनि केही एकाइ सक्रिय गराएको बुझिएको छ । नेकपा र नेकपा (विप्लव) सँग सम्बन्धित ती एकाइ नयाँँदिल्लीस्थित भेनेजुएलाको दूतावासबाट राजदूत आगुस्तो मोन्तिएलले समन्वय गर्दै आएको स्रोतको दावी छ । सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा ‘बोलिभारियन’ समाजवादको प्रचारप्रसार व्यापक बनाउने उद्देश्यले यस्ता एकाइ स्थापना गरेको हो ।
झन्डै एक अर्ब डलर बराबरको भेनेजुएलाली पैसा नेपालमा गैरसरकारी क्षेत्रमा लगानी भएको स्रोतको दावी छ । नेपालमा भने विप्लव समूह र मदन भण्डारी थर्ट स्कुल अफ एसियामार्फत प्रचारप्रसार गर्दै आएको छ । भेनेजुएलाले यो स्कुललाई राम्रोसँग आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । प्रचण्डको विज्ञप्ति मस्यौदा गर्ने बलराम बाँस्कोटा सोही स्कुलका अध्यक्ष हुन् । यसले अन्तर्राष्ट्रिय रुपमा नै माक्र्सवादबारे कक्षा सञ्चालन गर्दै आएको छ । यसमा लाग्ने खर्च भेनेजुएलाले व्यहोर्छ ।
सञ्चारमाध्यमप्रति अध्यक्ष प्रचण्डको आक्रोश
‘प्रचण्ड’ले भेनेजुएलाको राजनीतिक संकटको विषयमा अतिरञ्जित ढंगले समाचार आएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डको निजी सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्ड र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको दाबी गरिएको छ । विज्ञप्तिमा यस्ता खालका भ्रामक र कपोकल्पित समाचारको पछि नलाग्न समेत सबैमा आग्रह गरिएको छ । प्रचण्डको सचिवालयले आफ्नै वक्तव्यको निरन्तरतास्वरूप सरकारको वक्तव्य आएको संकेत गरेको छर ।
यसैवीच नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले हालै भएको एक अन्तक्र्रिया कार्यक्रममा भेनेजुयलाका पक्षमा लाग्नुका विभिन्न चार कारण प्रस्तुत गरेर नेकपा भेनेजुयलाकै पक्षमा छ भन्ने दरार प्रस्तुत गरेका छन् ।
प्रचण्ड परिवारको अमेरिका भ्रमण रोकियो
भेनेजुएलाको पक्षमा प्रचण्डले विज्ञप्ति निकाल नेपाल र अमेरिकाबीचको कूटनीतिमा मात्र होइन उनको पारिवारिक मामिलामा समेत असर परेको छ ।
भेनेजुएलाको आन्तरिक मामिलामा ‘साम्राज्यवादी अमेरिका’ ले हस्तक्षेप गरेको भन्दै विज्ञप्ति जारी गर्नुपूर्व प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा थिए ।
‘पत्नी सीताको उपचारका लागि प्रचण्ड माघ पहिलो साता अमेरिका जाँदै थिए’ स्रोतले भन्यो, ‘यसका लागि काठमाडौँस्थित अमेरिकी दूतावासले सहजीकरण गरिदिएको थियो ।’
प्रचण्ड, पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र सीताको उपचारमा सहयोग गर्दै आएकी नर्स अम्बिका पनि अमेरिका जाने गरी भिसा लगाइसकिएको थियो । तर, मौसमममा आएको अचानक परिवर्तनका कारण सीता बिरामी भइन् । भाइरलका कारण उनी निवास नजिकै रहेको धापाखेलस्थित सुमेरु अस्पतालमा ६ माघमा भर्ना भइन् । सीतामात्र होइन, खानेपानी मन्त्रीसमेत रहेकी बुहारी बीना मगर पनि बिरामी भइन् र अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुगिन् । अस्पताल भर्ना नभए पनि प्रचण्ड पनि बिरामी परे ।
बिरामी भएर यता अस्पताल भर्ना गर्नुपरेपछि प्रचण्ड परिवारले सीताको उपचारका लागि अमेरिका जाने कार्यक्रम स्थगित ग¥यो । उनी निको भएपछि जाने योजना बनाइएको बताइएको छ ।
६ माघमा अस्पताल भर्ना भएकी सीता हप्ता दिन बढी बिताएर सुमेरु अस्पतालबाट १४ माघमा ‘डिस्चार्ज’ भएकी छन् । तर, डिस्चार्ज भएलगत्तै सीतालाई अमेरिका लैजाने कार्यक्रम तत्कालका लागि प्रचण्ड परिवारले स्थगित गरेको छ । त्यसको कारण हो, भेनेजुएला प्रकरणमा नेकपा अध्यक्षका हैसियतमा प्रचण्डले ११ माघमा जारी गरेको त्यही कडा विज्ञप्ति । सोही विज्ञप्ति निकाले लगत्तै काठमाडौँस्थित अमेरिकी दूतावासले सत्तारुढ दलका अध्यक्ष प्रचण्डको विज्ञप्तिप्रति सरकारको धारणा माग गरेको थियो ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने नेपाल सरकारको मूल नीति रहेको स्मरण गराइएको छ ।
नेपाल सरकारको धारणाका रुपमा आएको परराष्ट्र मन्त्रालयको प्रचण्डको विज्ञप्तिसँग मिल्दोजुल्दो छ, जसबाट काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीहरु सन्तुष्ट छैनन् । पत्नीको उपचारका लागि अमेरिका जाने योजना बनाएका प्रचण्ड परिवार यही कारण त्यसबाट पछि हटेको छ ।