भेनेजुयलाको भेलमा फस्यो नेकपा

प्रचण्डको अभिव्यक्तिमा ओलीविरोधी गन्ध/सरकारलाई असफल बनाउने षडयन्त्र

काठमाडांै । पश्चिमी वायुले काठमाडौं उपत्यकासहित देशभर बिहीबारदेखि निरन्तर पानी पर्दा जनजीवन प्रभावित भएको छ भने पश्चिमी राजनीतिका कारण नेपालको कूटनीति र राजनीति प्रभावित भएको छ । मौसमविद्हरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने घोषणा पहिले नै गरेका थिए । उनीहरुको भनाइअनुसार पानी पर्न रोकिने र न्यानो बढ्ने छ । तर पश्चिम राजनीतिका कारण उत्पन्न विवादले कूटनीति र राजनीतिमा न्यानोपन आउन निकै समय लाग्ने देखिएको छ ।
निरन्तर परेको पानीले चिसो अत्यधिक बढ्ने र जनजीवन नै प्रभावित हुने धेरैको आशंका थियो । तर सोचेजति चिसो महसुस गरिएको छैन । आकाशमा बादल लागेकाले धेरै चिसो नभएको मौसमविद्हरुले बताएका छन् । यसले गर्दा जनतालाई फाइदै पुर्याएको छ । तर कूटनीति अपरिपक्वताले मडारिएको कालोवादल भने देश र जनताका लागि घातकसिद्ध हुँदै गएको छ ।
हजारौं कोस टाढाको दक्षिण अमेरिकी मुलुकमा भेनेजुयलासँग नेपालको खासै घनिष्ठ कूटनीतिक सम्वन्ध छैन । त्यहाँ भयको वातावरण सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले सम्पन्न निर्वाचनमा लगातार दोस्रोपल्ट निकोलस माडुरो राष्ट्रपतिमा विजयी भएका छन् । अमेरिकाले स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोको समर्थन गरेपछि भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय विभाजित बनेको छ ।
नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त एवं तटस्थ व्यवहार कायम राख्न नसक्दा विवादको भूमरीमा फसेको छ । सत्ताधारी दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले माडुरोको पक्षमा वक्त्तव्य दिँदै ‘साम्राज्यवादी’ अमेरिकाले माडुरोका विरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकाको आलोचना गरेका छन् भने भेनेजुयलाको राजनीतिक हस्तक्षेपबाट पछि हट्न चेतावनी पनि दिए । यसले गर्दा अमेरिका नेपालप्रति क्रुद्ध मात्र बनेको छैन, नेपाल सरकारको आधिकारिक धारणा माग गरेको छ । अमेरिकास्थित नेपाली राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको छ भने नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग भेट गर्दै असन्तुष्टि जनाइसकेका छन् ।
दाहालले अमेरिकाविरुद्ध विज्ञप्ति निकाल्दा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवाली स्विजरल्यान्डको डाभोसमा आयोजित वल्र्ड इकोनोमिक फोरममा सहभागी थिए । अध्यक्ष तथा प्रधानमन्त्री स्वदेशमा नभएको बेला सरकारलाई नै अप्ठ्यारो पार्ने गरी दाहालले पार्टीको लेटरहेडमा भेनेजुयलाको संकटबारे अमेरिकालाई गाली गर्दै आधिकारिक रुपमा वक्तव्य निकाल्नुलाई रहस्यमय भएको टिप्पणी भइरहेको छ । सरकारको आफ्नो दृष्टिकोण, अन्तर्राष्ट्रिय मूल्य–मान्यता, नियम र मापदण्ड हुँदाहुँदै सरकार भन्दा पहिले पार्टीका तर्फबाट पुष्पकमल दाहालले वक्तव्य दिँदा त्यसले नेकपाभित्र समेत विभिन्न आशंका पैदा भएको छ ।
त्यसो त हाइटीको मामिलामा नेपालले अमेरिकी धारणाको विपरित वक्तव्य दिएको थियो भने भियतनाम र माल्दिभ्सको घटनामा पनि चीन र भारतको विरोध गर्दै वक्तव्य दिएको थियो । पञ्चायतकालमा पनि कतिपय अन्तर्राष्ट्रिय मामिलामा नेपालको धारणा शक्ति राष्ट्र भन्दा फरक हुन सक्थ्यो । तर त्यस्तो अवस्थामा पार्टी, नेता होइन सरकार बोल्नुपर्छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रचलन, मान्यता र विधि विरुद्ध कुनै निर्णय गर्यो भने त्यो विवादमा आउँदैन । तर नेपालको कम्युनिष्ट सरकारले आधिकारिक रुपमा नबोल्दै पार्टी अध्यक्ष दाहालले वक्तव्य दिँदा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीलाई समेत अप्ठ्यारो परेको देखिएको छ ।
असंलग्न परराष्ट्र नीतिलाई बिर्सेर वा राष्ट्रसंघको वडापत्र पञ्चशिलको सिद्धान्त र आजसम्मका कूटनीतिक अभ्यासहरुलाई विर्सेर अकस्मात कुनै एउटा धारमा उभिन खोज्दा नेपाललाई भोलि समस्या आउन सक्ने देखिन्छ । परराष्ट्र मन्त्रालयले भेनेजुयला संकटका बारेमा स्पष्ट गर्न खोजेपनि शुरुमै पुष्पकमल दाहालले अमेरिकामाथि ढुंगा प्रहार गरेर सशंंकित बनाएका छन् ।
अपरिपक्व ढंगले कूटनीतिमा आफ्नो चलाखी देखाउन खोज्दा नेपाललाई ठूलो घाटा हुन सक्छ भन्ने कुरा अध्यक्ष दाहालले नबुझेका होइनन् । ओली सरकारको पक्षमा अमेरिका लगायतका मुलुकहरूले देखाएको विश्वास र आकर्षण, चीन र भारतसँग तुलनात्मकरूपमा देखिएको घनिष्टता र पार्टी भित्र प्रधानमन्त्री ओलीको निर्णायक पकडले आफ्नो राजनीतिक भविष्य संकटमा पर्ने हो कि भन्ने त्रासमा रहेका प्रचण्डले बुझिबुझी यस्तो वक्तव्य दिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । प्रचण्डलाई ओलीका कट्टर विरोधीहरु वामदेव गौतम, माधव नेपाल र झलनाथ खनालले पनि उक्साएको नेकपा स्रोतको दावी छ । प्रचण्डको वक्तव्यको ड्राफ्ट तुल्सीलाल स्मृति प्रतिष्ठानस्थित वरिष्ठ नेता माधवकुमार नेपालको कार्यकक्षमा तत्कालीन एमाले विदेश विभाग सचिव यादव शर्मा र बलराम बाँस्कोटाले तयार गरेको बुझिएको छ । अमेरिकाको विरोध र भेनेजुयलाको पक्षमा देखिएको यो विज्ञप्तिको निशाना भने ओली सरकारविरुद्ध भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
मुलुकभित्र र बाहिरका कम्युनिस्ट आन्दोलनका शक्तिहरूमाझ आफूलाई ओली भन्दा इमान्दार र प्रतिवद्ध सावित गर्ने प्रचण्डको दाउ एकातिर देखिन्छ भने अर्कोतिर अमेरिका लगायतका पश्चिमी मुलुकहरूलाई पनि परराष्ट्र नीति र रणनीतिक सवालहरूमा प्रधानमन्त्री ओली निर्णायक हैसियतमा छैनन् भन्ने सावित गर्न प्रचण्डको अर्को दाउका रुपमा सो विज्ञप्ति आएको विश्लेषकहरुको तर्क छ ।
भेनेजुयलाका बारेमा नेकपाका अध्यक्ष दाहालले दिएको चर्को वक्तव्यमा अमेरिकालाई साम्राज्यवादी भनिएका कारण मात्र होइन, भाषामा कूटनीतिक र राजनीतिक मर्यादा नभएको भन्दै काठमाडौंस्थित अमेरिकी राजदूत वेरीले प्रधानमन्त्रीलाई भेटेर असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले दाहालको जिव्रो चिप्लिएको भन्दै घुमाउरो शैलीमा क्षमा मागेर विवादलाई विट मार्ने प्रयास गरेका छन् । तर दाहालले आफ्नो जिव्रो नचिप्लिएको बताउँदै अमेरिका विरोधी वक्तव्यमा आफ्नो अडान कायमै रहेको दोहोर्याएर विवादलाई झन् बल्झाएका छन् । यसले गर्दा ओली र दाहालबीच चिसो बढ्ने सम्भावना अरु बढेको छ ।
दाहाल ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुन थालेका छन् । सरकारले राम्रो काम गरेको बताउँदै आएका दाहाल केही दिनयता सरकारले जनचाहनाअनुसार र संविधानको मर्म अनुसार काम नगरेको टिप्पणी गर्न थालेका छन् । उनले पार्टी फुट्ने र विगतको भन्दा खतरनाक माओवादी जन्मिने चेतावनी समेत दिएका छन् ।
पार्टीमा माओवादी धारलाई अवमूल्यन गरे विषम् परिस्थिति निम्ताउने चेतावनी दिँदै दाहालले माओवादी बिलायो भन्ने कसैले ठान्छ भने भयानक स्थिति हुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग भेनेजुयला तथा अन्य विषयमा खुलारुपमा मतभेद चर्किएको परिस्थितिमा दाहालले पार्टी एकीकरण भएको सात महिनापछि ओली र पूर्वनेकपा एमालेप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली तथा पूर्ववर्ती एमालेसँग आफ्नो मतभेद अघि बढेको दाहालको संकेतले पार्टीको एकता समेत प्रभावित हुने देखिएको छ ।
नेपालको जस्तो समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली दुनियाँमा कमै देख्न पाइने बताउँदै दाहालले त्यस्तो लोकतन्त्रलाई संस्थागत गर्न खोजेको, लोकतन्त्रको प्रतिफललाई गाउँगाउँ, नगरसम्म पु¥याउने र त्यो संरचनामार्फत जनताको घरदैलोमा नै सरकार र अधिकार दिलाउने गरी संविधान आएको भएपनि कार्यान्वयनको प्रक्रिया संविधानको मर्मविपरित भएको टिप्पणी समेत गरेका छन् ।
‘प्रदेशमा चाहे त्यो कानुनसम्बन्धी व्यवस्था होस् चाहे सुरक्षासँग सम्बन्धित व्यवस्था होस् चाहे आर्थिक लगायत विषयमा त्यहीरुपमा हामीले अगाडि बढाउँदै छौँ त ?’ भन्ने प्रश्न गर्दै दाहालले विस्तारै पुरानै संरचना र पुरानै तरिकालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेको आरोप लगाउँदै आफ्नै पार्टीका अध्यक्ष नेतृत्वको सरकारप्रति गम्भीर प्रश्न उठाएका छन् ।
शान्ति सम्झौतामा गरिएको प्रतिज्ञा, संविधानले दिएको अधिकार प्रत्यायोजन नभए फेरी माओवादी जन्माउने र त्यसले देशमा द्वन्द्वको स्थिति आउन सक्ने चेतावनी दिँदै दाहालले त्यो कल्पना नै नगरिएको भयानक हुने र विगतमा जस्तो सजिलै १२ बुँदे, फेरी सजिलै शान्ति सम्झौतामा हस्ताक्षर, फेरी सजिलै देशलाई अघि बढाउने एउटा युगान्तकारी परिवर्तनतिर लाने सम्झौता नहुने चेतावनी दिएका छन् ।
भेनेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिको विषयलाई लिएर नेकपाभित्र बढेको विवादले पार्टीलाई ठुलै संकटमा पुर्याउन सक्ने दाहालको यो अभिव्यक्तिबाट बुझ्न सकिन्छ । दाहालको अभिव्यक्तिले पार्टी तल्लोतहसम्म एकता नहुँदै फुट्न सक्ने संकेत देखिएका बेला अर्का नेता भीम रावलले पनि यस्तै चेतावनी दिएका छन् । अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुन दुवै अध्यक्षलाई चेतावनी दिँदै नेता रावलले ट्वीट मार्फत भनेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’
अहिलेको प्राथमिकता पार्टीका आन्तरिक विषयलाई मिलाएर एकीकरणको प्रक्रियालाई टुंग्याउनु रहेको बताउँदै नेता रावलले बाहिरी विषयमा गरिने टिकाटिप्पणी र त्यसले निम्त्याउने विवादले स्वयम् पार्टी तथा सरकारको काम कारवाहीलाई प्रभावित पार्ने बताएका छन् । सार्वजनिक विषयमा गरिने टिप्पणी आन्तरिक छलफलपछि मात्रै गरिनु पर्ने वताउँदै रावलले प्रचण्डले वक्तव्य दिन हतार गरेको संकेत गरेका छन् ।
उता अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरेकै थियो र हामीले बोल्नै पर्ने थियो भन्दै पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पुनः आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरकारलाई अप्ठ्यारोमा पार्ने यस्ता विषयमा पार्टीका नेताले टिप्पणी गर्दा नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्वन्धमा अरु क्षति पुग्ने देखिन्छ । सत्ताको आलोचना गर्दै आएको प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भेनेजुयलालगायतका विषयमा सरकार चुकेको टिप्पणी गरेको छ ।
भेनेजुएलाका नाममा सत्ताधारी दल विभाजित हुनु, सरकार निरीह देखिनु र प्रतिपक्ष अर्को कित्तामा उभिनुले वैदेशिक मामिलामा नेपाल अल्मलिएको देखिन्छ । आन्तरिक मामिलामा विदेशीलाई निम्त्याउने, आफ्नो मुलुकमा विदेशीकै सहारामा द्वन्द्वको कृतिम पक्ष जन्माई भावी द्वन्द्वको बीउ जोगाइराख्ने, मुलुकभित्र निषेधको राजनीतिलाई जारी राख्ने अनि बाह्य शक्तिको आडमा परिवर्तन ल्याउने प्रवृत्ति या राजनीतिलाई जारी राख्ने प्रयास अन्ततः प्रत्युत्पादक बन्ने गर्छ । अहिले देखिएको विवादले त्यही संकेत गरेको छ ।