नेकपाले पहिलोपटक आज जनयुद्ध दिवस मनाउँदै
काठमाडौ- तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आज (बुधबार) जनयुद्ध दिवस मनाउँदैछ।
कुनै बेला तत्कालीन एमाले माओवादी सशस्त्र युद्धको कट्टर आलोचक थियो। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो।
तर यसपटक कार्यक्रमको नाम भने ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ राखिएको छ। जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ।
दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय (धुम्बाराही)मा बिहान १० बजेपछि आयोजना गरिने कार्यक्रममा नेकपाका दुई अध्यक्षमध्ये एक अर्थात् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागी हुनेछन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने छैनन्।
प्रधानमन्त्री ओली आजै शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री रोजागर कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएको नेकपाले जनाएको छ।
केन्द्रका साथै प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनहरूले पनि जनयुद्धको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछन्।
यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ-आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।
यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाउँदैछन्। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ ।
यसैगरी गोपाल किरातँीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ । तर डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको छ ।
तत्कालीन माओवादीले ०५२ फागुन १ बाट सुरु गरेको सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो। यस क्रममा १७ हजार नेपालीले ज्यान गुमाएका थिए भने उत्तिकै संख्यामा घाइते भएका थिए।
माओवादीले सञ्चालन गरेको यही युद्ध र ०६२र६३ को जनआन्दोलनले देशमा गणतन्त्र स्थापना भएको थियो।