ओली नेतृत्वको सरकार : एक वर्ष पूरा, जनताका सपना अधुरा

प्रगतिको सूची थप्न शुभारम्भ दौड

काठमाडौं । नेपालको इतिहासमा ६० वर्षपछि संसदमा दुईतिहाई भन्दा बढी समर्थनमा बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । सरकारले पनि देशलाई समृद्ध र जनतालाई सुखी बनाउने संकल्प गरेको छ । तर सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दा प्रधानमन्त्री ओलीले घोषणा गरेका प्रतिवद्धता र जनताले गरेको आशा अधुरै देखिन्छ ।
गत वर्ष फागुन ३ गते सुशासन, विकास र समृद्धिलाई मूल नारा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका थिए । तर व्यवहारमा धेरै कुरा अल्मलिएको देखिएपनि प्रधानमन्त्री ओलीले भने समृद्धिका लागि आधार तयार भइसकेको र अबको आफ्नो चार वर्षे अवधिमा धेरै कुराको थिति बस्ने र मुलुक समृद्ध हुने दावी गरेका छन् ।
एक वर्ष पुगेको अवसरमा जनतालाई सम्वोधन गर्दैै प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको वताउँदै यो अवधिमा अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको बताएका छन् ।
सरकारले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेसँगै यसबारेमा विभिन्न पार्टी, वुद्धिजीवी र समाजका गन्यमान्य मानिसहरुले सरकारको कामको समीक्षा गरिरहेका छन् । सरकारले केही गरेको छैन भन्ने होइन, तर उनले भनेका र जनताले आश गरेका काम नहुँदा जनता निरास भएका हुन् । अधिकांसले ओलीले भन्दै आएको र आफूहरुले चाहेको सुशासन, विकास र समृद्धिको सपना पूरा हुने सम्भावना न्यून रहेको प्रतिक्रिया दिएका छन् । विपक्षी दलले मात्र होइन सत्तारुढ दलकै नेता, कार्यकर्ताहरुले सरकारको आलोचना गर्दै जुन प्रतिवद्धताका साथ प्रधानमन्त्रीले पद सम्हालेका थिए, त्यो अधिकांस अधुरै रहेको टिप्पणी छ । तर प्रधानमन्त्री ओलीले ‘नेपाल बन्छ, बनाउनै पर्छ र बनाएरै छोड्छु ।’ भनेका छन् । उनले हरेक चिजको आयु, समयको सीमा, ज्ञानको सीमा, सामथ्र्यको सीमा हुने बताउँदै इमानको कुनै सीमा नहुने र निष्ठाको कुनै निर्धारित आयु छैन भन्दै इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो नहुने तर्क गरेका छन् ।
चुनावी परिणामबाट राजनीतिक स्थायित्व प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले अब आर्थिक स्थायित्व तिर अग्रसर भएको बताए । उनले हाम्रा चुनौती के के हुन् मात्र होईन को को हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताएका छन् । राजनीतिक स्थायित्वलाई तेजोवध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत व्यक्ति र शक्तिलाई समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले तोड्दै जाने बताएका छन् ।
सरकारले एक वर्षमा आधार खडा गरेको वताउँदै प्रधानमन्त्री ओलीले आउँदा वर्षहरु उपलव्धिका बर्षहरु हुने छन् भनी दावी गरेका छन् । पाँच बर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्र मार्फत आफूहरुले गरेका प्रतिवद्धता पूरा गरेरै छाड्ने दावी गर्दै प्रधानमन्त्री ओलीले त्यतिबेला देख्ने सपना अर्कै हुने बताएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको एक वर्षको कार्यकाल असफल भएको ठहर गरेको छ । सरकार असफल हुनुमा प्रमुख प्रतिपक्षी कांग्रेस पनि जिम्मेवार रहेको वुद्धिवीजीहरुको तर्क छ । कांग्रेस प्रतिपक्षी जस्तो नदेखिएको र जनताका समस्यामा मौन बसेको आरोप लागेको छ । कांग्रेसले सशक्त रुपमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्दा जनताका समस्या यथावत रहेको विश्लेषकहरुको तर्क छ ।
प्रमुख प्रतिपक्ष दलका नेता तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले गफ गर्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भाषण गरेर मात्र देश बन्ने भए पहिल्यै बनिसक्थ्यो भन्दै सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको ठोकुवा गरेका छन् । सभापति देउवाले सरकार गति र विधि तथा संवैधानिक प्रकृयाबाट विमुख भएको समेत आरोप लगाएका छन् ।
सभापति देउवाले सरकारले एक बर्षको अवधिमा जिम्मेवारीका साथ महत्वपूर्ण र दुरगामी काम गर्न नसकेको बरु चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको, निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्न नसकेको बताए । कर वृद्धि, महँगी र भ्रष्टाचार सरकारको जनउपहार भएको व्यंग्य समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा नेता कृष्ण सिटौलाले जनताले आशा गरेजस्तो काम सरकारले गर्न नसकेको र चरम राजनीतिकरणमार्फत राज्य संयन्त्रका सबै निकायलाई कमजोर र आफू अनुकुल बनाउन लागेको आरोप लगाए । अर्का नेता प्रकाशमान सिंहले सरकार सबै क्षेत्रमा जबर्जस्ती ढंगले अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको बताउँदै यसको विरोध देशभर गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको एक वर्षे कार्यकाललाई ‘चार ठेकी मोहीमा तीन थोपा घ्यू’ जस्तो मात्र भएको टिप्पणी गरेका छन् । विकास निर्माणको जग हालेको घोषणा गर्दा वालुवा हालेर जग बलियो नहुने पनि उनको तर्क छ । फागुन ५ गते नेपाली कांग्रेसको वैठकले सरकारको एक वर्षे कार्यकालको पूर्ण समीक्षा गरेर आफ्नो आधिकारिक धारणा विस्तृत रुपमा सार्वजनिक गर्ने पनि उनले बताएका छन् ।
सरकार असफल र अधिनायकवादी भएको भन्दै विपक्षीहरुले आरोप लगाएर पूर्वाग्रही हुन खोजेपनि तथ्यांकले झुटो बोल्दैन । विदेशी लगानी घट्दै गएको, विदेशी मुद्राको संचिति घटिरहेको, व्यापार घाटा बढेको र शोधनान्तर घाटाको अवस्था समेत बढेको देखिन्छ भने प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर राष्ट्रलाई समृद्ध वनाउने कुरा योजनामै सीमित रहेको देखिन्छ ।
अर्थतन्त्रका प्रमुख सुचकहरु नकारात्मक देखिनु डरलाग्दो संकेत भएको अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् । लगानीमैत्री वातावरण नभएको र सरकारको नीति नै स्पष्ट नहुँदा विदेशीहरु ठूलो लगानी गर्न उत्सुक नदेखिएको पाइएको छ । त्यस्तै मूल्य वृद्धिदर बढिरहेकाले जनताको जीवन कष्टप्रद हुने देखिन्छ ।
सरकारको एक वर्षे कार्यकालमा तीन तहको चुनावपछि संघीयतालाई कार्यान्वयन गर्ने प्रयास भएका छन् । त्यसलाई राजनीतिक दलहरुले सकारात्मक मानेका छन् । तर व्यापारघाटा बढेर पौने सात खर्ब पुगेको र मुलुक साढे ६३ अर्ब रुपैयाँको घाटामा रहेको तथ्यांकले रकम बाहिरिने क्रम शोधानान्तर स्थिति चिन्ताजनक भएको देखाउँछ ।
सरकारले ठूलो उपलव्धि गरेको दावी गरेपनि भोलि इतिहासले मूल्यांकन गर्न अवस्थामा एक वर्षमा केके प्रगति भयो भन्ने कुराको हिसाव खोजिने छ । नयाँ पुस्तालाई उत्साहजनक बाटोमा हिडाउन कार्यक्रम दिएर मात्र पुग्दैन, व्यवहारमा उतार्न सक्नुपर्छ । तर त्यसो नहँुदा सरकारको एक वर्ष कागजी योजना, छलफल र सपनामा मात्र केन्द्रित रहेको देखिएको छ ।

प्रगतिको सूची थप्न शुभारम्भ दौड
२०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आफू नेतृत्व सरकारको एक वर्ष पूरा गरेको अवसर पारेर फागुन २ गते देशवासीका नाममा सम्वोधन गरे । उनले आप्mनो सम्वोधनमा सरकारले गरेका कामको फेहरिस्त जारी गरे जसमा सोही दिन मात्रै उद्घाटन गरेका दुईवटा कार्यक्रम समेत समावेश गरेका थिए ।
आफ्नो प्रगतिको सुचिमा थप्न प्रधानमन्त्री ओलीले पछिल्लो एक हप्ता निकै दौडधुप गरेका थिए । सरकार गठनको एक वर्ष पुग्न एक दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री ओलीले पानीजहाजको कार्यालय र नेपालको पानी जनताको लगानी नारा दिएर जनताको लगानीमा विद्युत उत्पादन कार्यक्रमको उद्घाटन गरे ।
त्यस्तै फागुन १ गते युवाका लागि बेरोजगार भत्ताको शुभारम्भ गरेका थिए । यी सबै विषय उनको सम्वोधनमा प्रगतिको सुचिमा समेटिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको यो योजनामा युवाहरुलाई रोजगारी दिने र रोजगार दिन नसके भत्ता दिने घोषणा गरिएको छ ।
सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित घोषणा गरिएको कार्यक्रमले बेरोजगार युवालाई वर्षमा कम्तिमा एक सय दिन रोजगारी दिने भनेको छ । सरकारले रोजगारी नभएका प्रत्येक परिवारका एक सदस्यलाई कम्तिमा एक सय दिनको रोजगारी दिने दावी गरेको छ । भलै यो कार्यान्वयनमा पुग्दा कुन स्वरुप ग्रहण गर्छ अहिले नै भन्न सकिन्न ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सुरु गरिएको जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गर्दै ओलीले लगानी गर्न नसक्ने नेपालीका लागि सरकारले ऋणको व्यवस्था समेत गर्ने बताएका छन् । त्यस्तै अघिल्लो साता मात्रै प्रधानमन्त्रीले झापाबाट रात्रि उडानको पनि शुभारम्भ गरेका थिए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सक्रियतामा उडान सुरु गरिएको थियो । प्रधानमन्त्रीको सम्वोधनमा रात्रि उडानलाई पनि प्रगतिको सुचिमा समावेश गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शिलान्यास पनि प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको थियो । तर प्रधानमन्त्रीको समय अभाव भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आइतबार नुवाकोटको किस्पाङ गाउँपालिका ५ मा सो आयोजनाको शिलान्यास गरे । प्रधानमन्त्रीको सम्वोधनमा सो योजनाको शिलान्यास पनि प्रगतिको सुचिमा समावेश छ ।
एक वर्षको लामो अवधिमा पनि सरकारले जनताले अनुभूति गर्ने गरी कुनै काम नगरेको आरोप लागिरहेका बेला उनले जनतालाई देखाउन पनि यस्ता कार्यक्रम हतारहतार गरेर उद्घाटन गरेका थिए भने आफ्नो एक वर्षे प्रगति विवरणमा समेत समावेश गरेको बुभ्mन सकिन्छ । स्वास्थ्य अवस्थाका कारण केही समयदेखि दौडधुपलाई कम गरेका प्रधानमन्त्री ओलीले पछिल्लो एक हप्ता निकै दौडधूप गरेका थिए ।
बिहीबार आफ्नो एक बर्षे कार्यकालको प्रगतिविवरण सार्वजनिक गर्दै ओलीले आफूले पुस २२ गते संसदमा प्रस्तुत गरेको आर्थिक गतिविधिका तथ्याङ्कलाई बङ्ग्याएर आफूलाई गलत देखाउन खोजेको आरोप लगाएका छन् । भावनामा सुन्न चाहनेले तथ्यांकलाई मिथ्यांक बनाएको गुनासो गर्दै प्रधानमन्त्री ओलीले आर्थिक परिसूचकहरु सकारात्मक ढंगले अघि बढिरहेको दावी पनि गरेका छन् ।
महत्वाकांक्षा ठूलो थियो तर डेलिभरी सुस्त भयो भन्नु बिना आधारको आरोप भन्दै मुलुक अहिले समृद्धिको तिर्खामा रहेको र सरकार समृद्धिका लागि संघर्षरत रहेको बताए ।
वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्दै गएको र देश विकासतर्फ अघि बढेको, विश्व आर्थिक मञ्चले पहिलोपटक नेपाललाई बोलाएको बाटै प्रष्ट हुने प्रधानमन्त्रीको भनाइ छ । उनले यो वर्ष आधार वर्षको रुपमा खडा भइसकेको र आउँदा वर्ष समृद्धिको वर्ष हुने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले देखाएका आर्थिक समृद्धिका आधारहरु
— औसत मुद्रास्फिति नियन्त्रणमा छ । कम्पनी दर्ताको संख्या २६.७ प्रतिशतले बृद्धि भएको छ । वित्तीय संस्थाको लगानी बढेको छ । श्रम सम्बन्धमा सुधार आएकोले औद्योगिक विकास भएको छ । बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह २० प्रतिशतले बढेको छ ।
— लगानी सम्मेलनको तयारी पुरा भएको ।
— १० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालले २१ वर्षपछि पुरा गरेको ।
— सडक, पुल लगायतको निर्माण भएको छ ।
— हरेक तिन दिनमा एउटा तुइन विस्थापित भएको छ ।
— १ खर्बको लगानी प्रस्ताव भएको छ । विदेशतर्फ ५१ अर्बको उद्योगहरुको लगानीको प्रस्ताव आएको ।
— २० अर्ब रुपैयाँ अनुदान मापदण्डका आधारमा प्रदेश तथा स्थानीय तहलाई निकासा गरिएको ।
— एकल विन्दु सेवा केन्द्र सेवा शुरु गर्न तयारी पुरा भएको ।
— विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक लगानी ऐनलाई लगानी मैत्री बनाउन संशोधनको तयारी ।
— २००० हेक्टरमा थप सिँचाइ सुविधा ।
— ८.९ प्रतिशतले धान उत्पादन वृद्धि ।
— १६.५ प्रतिशतले तरकारी उत्पादन वृद्धि ।
— यसपटक कुनै पनि समयमा खाद्यान्न संकट भएन ।
— २० हजार व्यक्तिलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन निवेदन संकलन गरिएको ।
— काम गर्छु भन्नेलाई सहुलियत दरमा सात विधामा ऋण दिन शुरु ।
— माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा ।
— पर्यटकको विस्तारसँगै सेवा क्षेत्र विस्तार भएको ।
— बिमित संख्या १५ लाख पुगेको ।
— योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुरु ।
– युवाहरुलाई रोजजारीको सुनिश्चितता ।