कांग्रेसमा बल्झियो विवाद
काठमाडौं । नेपाली कांग्रेसको महासमिति भेलाले स्वतः प्रतिनिधि हुने व्यवस्था हटाएर तल्लो तहबाटै चुनिएर महासमितिमा आउनु पर्ने सुझाव दिएको थियो । जिल्ला सभापतिहरुले पनि सोही किसिमको सुझाव दिएका थिए । तर आफै हारिएला कि भन्ने डरले सभापति शेरबहादुर देउवालगायतका कैयन् केन्द्रीय नेता त्यस्तो प्रावधान नराख्ने पक्षमा देखिएका छन् । जसले गर्दा कांग्रेसमा पुनः विवाद सिर्जना भएको छ ।
महासमितिले निर्णय गरिसकेका कारण यो विषयमा केन्द्रीय समितिमा छलफल गरिरहनु विधिसम्मत नभएको कांग्रेसका नुवाकोट सभापति जगदिश नरसिंह केसीले जनाएका छन् । समानुपातिक र समावेशीको सिद्धान्तलाई आफू अनुकुल बनाउन खोजेको भन्दै कतिपय युवा नेताले वरिष्ठहरुको विरोध गर्दै आएका छन् ।
देउवा निकट कतिपय नेताहरु भने पदाधिकारीहरु नै तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्दा पार्टी दुर्घटनामा पर्न सक्ने बताउँछन् । उनीहरुले पहिलाकै विधानको व्यवस्थालाई निरन्तरता दिनुपर्ने तर्क गरेका छन् । तर सभापति शेरबहादुर देउवाका आलोचक नेताहरु महासमितिको सुझाव अनुसार व्यापक संशोधन गरेर विधान पारित गर्नुपर्ने पक्षमा छन् ।
विधानका बारेमा विवाद बढेपछि केन्द्रीय कार्यसमितिको वैठक पनि लम्विएको छ । पार्टीलाई एकजुट बनाएर लैजानुपर्नेमा वैठकमा गुटबन्दीको स्वरहरु मुखरित भइरहेको गुनासो कार्यकर्ताको छ ।
पार्टीभित्र बढेको अन्तरद्वन्द्वले सभापति देउवालाई महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो परिरहेको देखिन्छ । महासमिति बैठकमा आफूले गरेको प्रतिवद्धता उल्ट्याउने प्रयास भएपछि नेपाली कांग्रेसको विधानलाई अन्तिम रुप दिन उनलाई सकस परेको हो ।
केन्द्रीय सदस्यहरु क्रियाशिल सदस्यता रहेकै ठाउँबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउने व्यवस्था राखेर विधान अनुमोदन गर्न महासमिति बैठकले केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिएको थियो । तर सभापति देउवासहितका नेताहरुले त्यसलाई अनुमोदन गर्न आनाकानी गरेपछि पार्टीभित्र नेताहरु दुई कित्तामा बाँडिएको एक नेताले बताएका छन् ।
मंसिर २८ देखि पुस ८ गतेसम्म चलेको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जन गर्ने गरी स्वीकृत गरेको विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउन निर्देशन दिएको थियो । महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सुझाव अनुसार नै विधान पारित गर्ने प्रतिवद्धता जनाएका थिए ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको महासमितिले केन्द्रीय समितिले परिमार्जन गर्ने गरी स्वीकृत गरेको विधान अन्तिमरुप दिन छलफल जारी रहेको र अब बस्ने वैठकले त्यो किनारा लगाउने बताएका छन् । विवाद मिलाउन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरिरहेको बताइएको छ । वैठक आज बस्दैछ ।
यस्तै कांग्रेसमा आरक्षणको विषयमा पनि विवाद कायमै छ । केन्द्रीय समितिमा आरक्षण कोटाबाट आएको व्यक्तिले फेरि त्यही कोटामा दोहोरिन पाउने वा नपाउने भन्ने विषयमा पनि विवाद रहेको बताइएको छ ।
तीन तहको निर्वाचनमा पराजय भोगेपनि नीतिगत र मार्गचित्रमा नेपाली कांग्रेस स्पष्ट देखिदैन । पार्टीभित्र देखिएको गुटबन्दीले तल्लो तहसम्म धमिरा लाग्दै गएपनि केन्द्रमा बसेका नेताहरुबीच मनोमालिन्य भइरहँदा समस्या अरु चर्किएर जाने र त्यस्तो अवस्थामा पार्टी बलियो हुने सम्भावना न्यून देखिन्छ ।